• ४ पुस २०८२, शुक्रबार

आइएस-के का वरिष्ठ नेता पक्राउ

blog

इस्लामाबाद, पुस ४ गते । पाकिस्तानले इस्लामिक स्टेट जिहादी समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस-के)का एक वरिष्ठ नेतालाई पक्राउ गरेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध अनुगमन समूहको प्रतिवेदन सार्वजनिक भएपछि एक वरिष्ठ पाकिस्तानी गुप्तचर अधिकारीले शुक्रबार यसबारे जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा नोभेम्बरमा पेस गरिएको प्रतिबन्ध अनुगमन समितिको प्रतिवेदनअनुसार आइएस-के का प्रवक्ताका रूपमा पनि काम गरेका सुल्तान अजिज आजमलाई गत मे १६ तारिखमा पक्राउ गरिएको थियो । ती अधिकारीका अनुसार आजम प्रवक्ता मात्र नभई यस क्षेत्रका आइएस-के का शीर्ष नेतामध्ये एक मानिन्थे । 

ती अधिकारीले भने, “आजमको भूमिका अत्यन्तै महत्वपूर्ण थियो, त्यसैले पक्राउपछिको सोधपुछ र अनुसन्धानलाई ध्यानमा राख्दै तत्काल सार्वजनिक गरिएको थिएन । यसले आतङ्कवाद विरोधी कारबाहीमा नकारात्मक असर पर्न सक्थ्यो ।” गुप्तचर अधिकारी तथा संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले आजम कुन देशमा पक्राउ परेका थिए भन्ने विषय भने स्पष्ट गरेको छैन ।

आइएस-के ले पछिल्ला वर्ष अफगानिस्तान, पाकिस्तान तथा अन्य केही मुलुकमा भएका सबैभन्दा भयावह आक्रमणको जिम्मेवारी लिँदै आएको छ । तीमध्ये धेरै आक्रमणमा सर्वसाधारणलाई नै निशाना बनाइएको छ । सन् २०२४ को मार्चमा समूहका बन्दुकधारीले मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण गर्दा १४० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो । 

त्यसै गरी, सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानिस्तान र पाकिस्तान दुवैमा आइएस–केको शृङ्खलाबद्ध घातक आक्रमण जारी रहेका छन् । तालिबान अधिकारीले सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको दाबी गर्दै आइएस-के तथा अन्य आतङ्कवादी समूहविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । तर पाकिस्तानले भने अफगानिस्तानको भूमि आतङ्कवादी समूहलाई शरण दिन प्रयोग भइरहेको आरोप लगाउँदै आएको छ । 

पछिल्ला महिनामा सीमा क्षेत्रमा भएका घातक झडपका कारण दुई देशबिचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । इस्लामाबादले आतङ्कवादी सञ्जालविरुद्ध सीमा क्षेत्रमा सघन कारबाही अघि बढाएको जनाएको छ । सुरक्षा स्रोतका अनुसार अक्टोबरमा अफगान भूभागमा गरिएको हवाई आक्रमण पाकिस्तानी तालिबानलाई लक्षित थियो । संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले अफगान तालिबान र पाकिस्तान दुवैको कारबाहीका कारण आइएस-के को क्षमतामा क्षति पुगेको उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, “समग्रमा, अफगान वास्तविक अधिकारी र पाकिस्तानद्वारा गरिएका आतङ्कवाद विरोधी प्रयासका कारण आइएसआइएल-के को क्षमता कमजोर बनेको छ ।” यद्यपि, समूह अझै लचिलो रहेको र अफगानिस्तानको उत्तर तथा पूर्वी क्षेत्रमा यसको लुकेका अखडा पूर्णरूपमा समाप्त नभएको प्रतिवेदनले जनाएको छ । अनुमानअनुसार आइएस-के सँग करिब दुई हजार लडाकू सक्रिय छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार समूहका नेताले क्षमता विस्तार गर्ने र अफगान सीमा बाहिर पनि आक्रमण गर्न सक्ने उद्देश्यले स्लीपर सेलको सञ्जाल विस्तार तथा भर्ती अभियान तीव्र पारेका छन् । अमेरिकास्थित थिङ्क-ट्याङ्क जेम्सटाउन फाउन्डेसनका अनुसार सुल्तान अजिज आजम अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तका हुन्, जुन पाकिस्तानको सिमानासँग जोडिएको आइएस-केको गढ मानिन्छ ।

फाउन्डेसनका अनुसार आजम एक कवि र लेखकका रूपमा पनि चिनिन्थे र सन् २०१५ मा आइएस-के मा सामेल हुनुअघि उनका लेखन सामग्री फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने गरेका थिए । रासस/एएफपी