मस्को, पुस ४ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र क्रेमलिनले तय गरेका सैन्य लक्ष्य अन्ततः हाँसिल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
वर्षको अन्त्यमा आयोजित उक्त पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले रुसी सेनाले ‘रणनीतिक पहललाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिएको’ दाबी गर्नुभयो र वर्षको अन्त्यसम्म थप उपलब्धि हाँसिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार युद्धभूमिमा रुसको स्थिति क्रमशः मजबुत बन्दै गएको छ ।
रुसको ठूलो र सुसज्जित सेनाले पछिल्ला महिनामा युक्रेनमा अपेक्षाकृत सुस्त भए पनि स्थिर प्रगति गर्दै आएको छ । यसै सन्दर्भमा आयोजित वार्षिक प्रत्यक्ष समाचार सम्मेलनलाई राष्ट्रव्यापी कल-इन कार्यक्रमसँग जोडिएको थियो, जसले देशभरका रुसी नागरिकलाई करिब २५ वर्षदेखि देशको नेतृत्व गरिरहनुभएका राष्ट्रपति पुटिनलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर प्रदान गर्दछ ।
राष्ट्रपति पुटिनले यस मञ्चलाई आफ्नो राजनीतिक प्रभाव सुदृढ पार्न तथा घरेलु र अन्तर्राष्ट्रिय मामिलामा आफ्नो धारणा सार्वजनिक गर्न नियमितरूपमा प्रयोग गर्दै आउनु भएको छ । यस वर्षको सम्मेलनमा विशेषगरी युक्रेन युद्ध र त्यससँग सम्बन्धित अमेरिकी समर्थनमा अघि सारिएको शान्ति योजनामाथि राष्ट्रपति पुटिनले के प्रतिक्रिया दिनुहुन्छ भन्ने विषयलाई पर्यवेक्षकले चासोका साथ हेरिरहेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा सेना पठाएपछि सुरु भएको करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न व्यापक कूटनीतिक दबाब दिँदै आउनु भएको छ । तर वासिङ्टनको पहल मस्को र किएभका एक-अर्कासँग ठोक्किने मागका कारण ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
राष्ट्रपति पुटिनले द्वन्द्वका ‘मूल कारण’लाई सम्बोधन गर्ने शान्तिपूर्ण समाधानका लागि मस्को तयार रहेको दोहोर्याउनुभयो । यो अभिव्यक्तिलाई क्रेमलिनले अघि सारेका कडा सर्तसँग जोडेर हेरिएको छ । यसै हप्ताको सुरुमा उहाँले किएभ र त्यसका पश्चिमी सहयोगीले मस्कोका माग अस्वीकार गरेमा रुसले युक्रेनमा आफ्नो सैन्य लाभ थप विस्तार गर्न खोज्ने चेतावनी पनि दिनुभएको थियो ।
रुसी नेताको चाहना अनुसार हाल रुसी सेनाले नियन्त्रणमा लिएका युक्रेनका चार प्रमुख क्षेत्रका साथै सन् २०१४ मा अवैधरूपमा अधिग्रहण गरिएको क्रिमियन प्रायद्वीपलाई रुसी भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने उहाँको अडान छ । साथै, उहाँले युक्रेनलाई पूर्वी युक्रेनका केही क्षेत्रबाट फिर्ता लिन आग्रह गर्नु भएको छ, जहाँ हालसम्म मस्कोको सेनाले पूर्ण नियन्त्रण स्थापित गरिसकेको छैन । यी मागलाई किएभले स्पष्टरूपमा अस्वीकार गर्दै आएको छ । रासस/एपी