• ४ पुस २०८२, शुक्रबार

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा धारणा राख्नुहुँदै अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ, पुस ४ गते। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताउनुभएको छ। 

११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। 

ओलीले एमालेको ११ औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको बताउँदै एमालेको महाधिवेशन हरेक कोणबाट सफल महाधिवेशन भएको दाबी गर्नुभयो। 

ओलीले पार्टीभित्र समय समयमा केही समस्या देखिएको बताउँदै उहाँले आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्ने कामना गर्नुभयो। ‘हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीति अनुसार हामी अगाडि बढ्ने छौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ,’, उहाँले भन्नुभयो। 

ओलीले असन्तुष्टि नेतृत्व समक्ष मौखिक वा लिखित रूपमा पेस गर्न उहाँले निर्देशन दिनुभयो। पार्टी भित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न उहाँले आग्रह गर्नुभयो। 

सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य भएको उहाँले स्मरण गराउनुभयो। समाज हुनको लागि अनुशासन अपरिहार्य रहेको आलीले स्पष्ट पार्नुभयो। उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र तीमध्ये पनि अग्रदस्ताको रूपमा रहेको एमालेभित्र दृढ अनुशासन अपरिहार्य रहेको उहाँले बताउनुभयो। एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी नभएको उहाँले स्पष्ट पार्नुभयो। 

सामूहिक प्रयास र हितका विरुद्ध मेरो निजी कुरा भनेर चल्न नमिल्ने ओलीले बताउनुभयो। पार्टीको बैठक पनि अति अनुशासित रूपमा चल्ने ओलीले स्पष्ट पार्नुभयो। 

एमालेका विरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उहाँले यस्ता कुराबाट प्रभावित नहुन नेतालाई आग्रह गर्नुभयो। अब एमालेभित्र कुनै गुट र प्यान नभएको बताउँदै उहाँले अब एमाले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो। 

देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै ओलीले त्यो अप्ठेरोबाट देशलाई समाधानको बाटोमा ल्याउने काम एमालेले गर्ने उहाँले बताउनुभयो।

देशमा लोकतन्त्र र गणतन्त्रविरुद्ध गतिविधि चलाउन हिंसा, तोडफोड र आगजनीको घटना गराइएको उहाँले बताउनुभयो। एमालेले आफ्नो गतिशीलतालाई अझ तीव्रता दिएर अघि बढ्ने ओलीले स्पष्ट पार्नुभयो। 

ओलीले अब सहर गाउँ सबै ठाउँमा टोल सुरक्षा समिति बनाएर सुरक्षाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो।