• ४ पुस २०८२, शुक्रबार

अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कानुन अस्वीकार्य : अध्यक्ष शर्मा

blog

नेपाल पत्रकार महासङ्घ दाङ शाखाको ३३ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालगायतका अतिथिहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, पुस ४ गते । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको ३३औँ स्थापना दिवसका अवसरमा शुक्रवार घोराहीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी आउने कानुनको विरुद्धमा महासङ्घ लाग्ने बताउनुभएको हो ।  

अहिले पनि केन्द्र सरकारसँगै प्रदेश र स्थानीय तह गरि तीनै तहका सरकारमा कानुन निर्माणको प्रक्रिया जारी रहेकाले नीति निर्माणका क्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन बनिरहेको छ कि छैन भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

प्रेस स्वतन्त्रताविरुद्ध जाने कानुनी प्रावधानहरू पत्रकारिता र लोकतन्त्र दुवैका लागि खतरनाक हुने भएकाले त्यसका विरुद्ध एकजुत हुन आवश्यक रहेको भन्दै कार्यक्रमकी प्रमुख अतिथि शर्माले भन्नुभयो,‘‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास जहाँबाट भए पनि त्यसको प्रतिवाद गर्न पत्रकारहरू एकजुट हुन आवश्यक छ ।’’ देशका तीन तहका सरकारबाट कानुन निर्माणको काम भइरहेकाले यस्तो अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरि कानुन आउन सक्ने भएकाले पत्रकार सचेत बन्नुपर्ने बताउनुभएको हो । पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएकाले पत्रकारितालाई कमजोर पार्ने प्रयासका विरुद्ध पत्रकार एकजुट भएर बोल्नुपर्ने उहाँको भनाइ थियो । 

त्यसैगरी संविधान जोगाउन समयमै निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष शर्माले त्यसका लागि वातावरण निर्माणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण बताउनुभयो । अहिलेको सङ्क्रमणकालीन अवस्थाबाट देशलाई पार लगाउनका लागि समयमै निर्वाचन हुन आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो,‘‘कानुन बचे मात्रै पत्रकारिता बच्न सक्छ । कानुनलाई बचाउनका लागि संविधानको रक्षा गर्न समयमै निर्वाचन गराउने वातावरण निर्माणमा सञ्चार माध्यमले जिम्मेवार भूमिका खेल्नुपर्छ ।’’

सामाजिक सञ्जाल प्रयोग गर्दा समेत पत्रकारहरु सचेत हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा आउने गलत सूचना र अफवाहका कारण समाजमा भ्रम फैलिन सक्ने भएकाले पत्रकारले सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्रवाहका लागि जिम्मेवार भएर आफ्नो पेसा गर्नुपर्ने बताउनुभएको थियो । सही सूचना प्रवाहमार्फत नागरिकलाई सत्य जानकारी दिनु पत्रकारको दायित्व भएको उल्लेख गर्दै अध्यक्ष शर्माले जिम्मेवार पत्रकारिताबाटै प्रेसप्रति जनविश्वास मजबुत हुने धारणा व्यक्त गर्नुभएको थियो । 

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारिताका माध्यमबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चार जना अग्रज पत्रकारलाई सम्मान र महासंघमा स्थापना भएका पुरस्कारबाट २० जना पत्रकारलाई पुरस्कृत गरिएको थियो ।