• ४ पुस २०८२, शुक्रबार

बैतडीका महिला व्यावसायिक बेसारखेतीमा

blog

दशरथचन्द (बैतडी), पुस ४ गते । बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । विगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् । 

खाद्यबाली जङ्गली जनावरले क्षति पुर्‍याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका–६ की कलसा लुहारले बताउनुभयो । “बाँदरले अन्य बालीमा क्षति पुर्‍याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अघि बढ्न बेसारखेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आबद्ध ४४ महिलाले बेसारखेती गरिरहेका छन् । घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकामा अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका सुर्नया गाउँपालिका–६ की पवित्रा शाहले बताउनुभयो । ‘सारथी नेपाल’ले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बीउ र प्राविधिक सहयोग गरेपछि बेसारसँगै लसुन खेतीसमेत गरिरहेको उहाँले जानकारी दिनुभयो । 

सारथी नेपालले पाटन नगरपालिका–६, ८ र ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ उक्त परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत महिला उद्यमी समूहमा आवद्ध महिला किसानलाई बीउ र प्राविधिक सहयोग गर्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीले बताउनुभयो । बाँझो जमिनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बीउबिजन तथा अन्य सहयोग गर्दै आएको छ । परियोजनाअन्तर्गत महिलाले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाखेती समेत गरिरहेका कार्यक्रम संयोजक भूपाल बोहराले बताउनुभयो । 

“महिलाले राम्रै मेहनत गरिरहनुभएको छ । साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरेका छाैं”, उहाँले भन्नुभयो, “बेलाबेला प्राविधिकसहित बारीमा पुगेर समस्याबारे छलफल गर्छाैं र समाधान पनि खोज्छौँ ।”