• ८ मंसिर २०८१, शनिबार

सय पुग्न लाग्दा सन्न्यासी !

blog

वैशाख २० गते अक्षय तृतीयाका दिन गलेश्वर आश्रममा सन्न्यास दीक्षा लिनुभएका पूर्वन्यायाधीश योगनाथ उपाध्याय (स्वामी योगानन्द) सहितका नवसन्न्यासी सन्न्यास ग्रहणपछि भिक्षा माग्दै । (बायाँ) सन्न्यास ग्रहणपछि देवघाटमा रहनुभएकी एक वृद्धा ।

वसन्त पराजुली

देवघाट, असार २६ गते । एक सय वर्ष पुग्नै लाग्दा पूर्वन्यायाधीश योगनाथ उपाध्यायले घरबार त्यागी सन्न्यासी बन्नुभयो । गत वैशाख २० गते अक्षय तृतीयाका दिन गलेश्वर आश्रम देवघाटमा उहाँले सन्न्यास ग्रहण गर्नुभएको हो ।  उठबस गर्नसमेत छोराछोरीको सहारा लिनुपर्ने ९६ वर्षीय उपाध्यायले सन्न्यास दीक्षा लिएसँगै त्यसलाई पुनर्जन्म मानियो अनि परिचय फेरिँदै नयाँ नाम राखियो– स्वामी योगानन्द । पुरानै नामको सुरुको अक्षर प्रयोग गरेर नयाँ नाम राख्ने सन्न्यासी परम्पराअनुसार योगनाथको नाम योगानन्द भएको हो ।

विक्रम संवत् १९८६ फागुन १२ गते जन्मनुभएका उपाध्यायले ४२ वर्ष न्याय सेवामा बिताउनुभएको थियो । २०७४ फागुनमा श्रीमतीको निधनपछि एकल जीवन बिताइरहनुभएका उपाध्यायले आफ्नो इच्छाअनुसार सन्न्यासी बनेको छोरा कुमार उपाध्यायले बताउनुभयो । “यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो,” छोरा कुमारले भन्नुभयो । 

उपाध्यायसँगै अक्षय तृतीयाका दिन देवघाटमा आठ जनाले सन्न्यास दीक्षा लिए ।  वास्तविक नाम ६५ वर्षीय केशरीप्रसाद ढकाल रहेका धादिङको बेसरी गाउँपालिकाका स्वामी केशवानन्द गिरी पाँच वर्षअघि सन्न्यासी बन्नुभएको हो । अहिले उहाँ देवघाटकै गलेश्वर आश्रममा सञ्चालित सदावर्त अन्न भण्डारमा भण्डारेका रूपमा स्वयंसेवक भई काम गरिरहनुभएको छ । 

पाँच छोरी एक छोरा भए पनि जीवनको उत्तराद्र्ध देवघाटमै बिताउने इच्छाले सन्न्यास ग्रहण गरेको केशवानन्द बताउनुहुन्छ ।  भन्न नचाहँदानचाहँदै पनि उहाँले आफ्नो विगत यसरी सम्झनुभयो, “म काठको काम गर्ने मिस्त्री हुँ । काम गर्न सकुन्जेल परिवारमा राम्रै थियो । जब म घरमै लडेर थला परेँ, छोराबुहारीले पनि हेला गर्न थाले । बचन सहन नसकेपछि बूढाबूढी खोलामा हेलिन भनेर घरबाट निस्किएको संयोगले देवघाट आएछौँ ।” 

जब म घरमै लडेर थला परेँ, छोराबुहारीले पनि हेलाँ गर्न थाले । बचन सहन नसकेपछि  बूढाबूढी खोलामा हेलिन भनेर घरबाट निस्किएको संयोगले देवघाट आएछौँ ।

यहीँ बस्दाबस्दै सन्न्यास ग्रहण गर्ने इच्छा जागेको उहाँले बताउनुभयो । केशरीप्रसादकी श्रीमती चन्द्रकुमारी ढकालले पनि श्रीमान्सँगै एकैदिन सन्न्यास लिनुभएको हो । सन्न्यास दीक्षा लिएपछि चन्दे्रशानन्द हुनुभएकी चन्द्रकुमारी र उहाँका श्रीमान्को अहिले देवघाटमा बस्ने कुटी फरक छन् । तर कहिलेकाहीँ श्रीमती आएर आफ्नो हेरविचार र सरसफाइ भने गरिरहने केशवानन्द बताउनुहुन्छ  । 

पछिल्लो समय न्यायाधीश, डाक्टर, निजामती कर्मचारी, शिक्षक, बैङ्कर्सहरूमा सन्न्यास ग्रहणको आकर्षण बढेको पाइन्छ । अहिले पनि देवघाटमा सयभन्दा बढी सन्न्यासी छन् । यद्यपि देवघाटमै रहेका ठूला आश्रमले विगत डेढ दशकयता तीन सयभन्दा बढीलाई सन्न्यास दीक्षा दिइसकेका तथ्याङ्क यहाँका आश्रमसँग छ । देवघाटका ठूला आश्रमहरू गलेश्वर, हरिहर र महेश सन्न्यास आश्रमले विशेषगरी शिवरात्रि, अक्षय तृतीया र श्रीपञ्चमीको अवसर पारेर सन्न्यास दीक्षा दिने गर्छन् । 

डेढ सयभन्दा बढीलाई सन्न्यास दीक्षा दिइसक्नुभएका गलेश्वर आश्रमका पीठाधीश स्वामी महामण्डलेश्वर आत्मानन्द गिरी शङ्कराचार्य पद्धतिबाटै वैदिक विधिअनुसार सन्न्यास दीक्षा दिइने बताउनुहुन्छ । “धार्मिक परम्पराअनुसार आफ्नो किरिया आफैँ गरेर सन्न्यास दीक्षा लिने हो,” उहाँले थप्नुभयो “सन्न्यास लिनेले पहिला पितृका लागि श्राद्ध गर्छन् । अनि देवीदेवताको पूजा गर्छन् । अन्त्यमा विधिपूर्वक ‘विरज होमन’ गर्दै आफ्नै आत्मश्राद्ध गरेर सन्न्यास दीक्षा लिने गर्छन् ।”

‘विरज होमन’ भनेको मान्छेमा हुने लोभ, क्रोध, लोभ, मोह आदि त्याग गर्ने प्रतिबद्धता जनाउने विधि भएको बताइन्छ । “सन्न्यास ग्रहण गर्नु आत्माशुद्धिको बाटो अपनाउनु हो । तर यसलाई पालना गरिराख्नु गाह्रो विषय हो,” उहाँले भन्नुभयो, “लोभ, मोह, क्रोध आदि त्याग गरेर ईश्वरीय शक्ति जिउन गाह्रो विषय हो ।” उसो त कतिपय मानिस सन्न्यास ग्रहण गरेर पनि पुनः घरमै फर्किएका उदाहरण पनि छन् । 

मान्छेमा वैराग्य जागेपछि सन्न्यास जीवन जिउने निर्णय गर्छ । त्यो बेला परिवार वा समाजले के भन्छ भनेर सन्न्यास ग्रहण गर्न रोकिँदैन । कुनै न कुनै रूपमा विरक्तिएका वा परिवारबाट एक्लिएका मानिस उत्तराद्र्धमा सन्न्यास ग्रहण गरेको धेरै भेटिने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।