• २९ मङ्सिर २०८२, सोमबार

सामवेदको सुन्तला बगान

जहाँ बोक्रा र बियाँ खल्तीमा हाल्नु पर्छ

blog

इलाम–५, बरबोटेस्थित सामवेद चापागाईं आफ्नो बगानमा सुन्तला देखाउनुहुँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मङ्सिर २९ गते । परैबाट देख्न सकिने इलाम नगरपालिका–५ का किसान सामवेद चापागाईंको सुन्तला बगान यतिबेला घुमौँ घुमौँ लाग्छ । सुधारिएको कृषि प्रणालीभित्र व्यावसायिक सुन्तला खेती, हेर्न, बुझ्न र अध्ययन गर्न दैनिक चापागाईंको बगानमा पुग्ने निकै हुन्छन् ।करिब साढे चार सय सुन्तलाको बोट रहेको यो बगानमा यो वर्ष सुन्तला पनि निकै राम्रो फलेको छ । “एक बोटमा करिब आठ मन सुन्तला होला, यस वर्ष दाना राम्रा र ठुला छन् ।”  चापागाईंले भन्नुभयो, “तर यहाँ ठुला व्यापारी छैनन्, व्यापारी खोज्न आफैँ जानु पर्छ ।”

गत वर्ष १० लाख रुपियाँमा बिक्री भएको चापागाईंको बगानमा यस वर्ष मूल्य पनि १० लाखभन्दा माथि नै हुने सहजै अनुमान गर्न सकिन्छ । २०६० सालदेखि सुन्तला खेती सुरु गरेका चापागाईंले भन्नुभयो, “अहिले यस्तो बगान भेट्न गाह्रो छ, धेरै बगान मासिइसकेका छन् । त्यसैले पनि होला अहिले बगान हेर्न आउने धेरै हुन्छन् ।”

चापागाईंको मेहनत पनि सिकाइयोग्य छ । सुकिलो बगान, सुन्तलाका फेदमा खाएका बोक्रा र बियाँ केही देखिँदैन । जानेले खाएको सुन्तलाको बोक्रा र बियाँ बगान देखेर पनि गोजीमै राख्नुपर्ने हुन्छ । 

किरा लागेर झरेका दानाको चापागाईंले छुट्टै व्यवस्थापन गर्नुभएको छ । “किरा लागेर झरेका दानाबाट पुनः अरूमा सङ्क्रमण हुन सक्छ । त्यसैले झरेका दानाको छुट्टै व्यवस्थापन गर्नु पर्छ ।” चापागाईं भन्नुहुन्छ, “सुन्तला बगान बनाउन र यसको स्याहार गर्न त्यति सजिलो छैन । दिनरात परिवार नै खट्दा मात्र यतिको बगान बनाउन र बगान बचाउन सकेका छौँ ।” करिब १८ रोपनी जमिनमा सुन्तला लगाएका चापागाईंले सुकेका बोट र बिचमा रहेका साना बोट हटाएर नयाँ बिरुवा पनि थप्दै हुनुहुन्छ ।

त्यसो त बिहान उज्यालो हुँदा बगानमै पुग्ने चापागाईं  साँझसम्म पनि सुन्तलाको स्याहारसुसार, किरा नियन्त्रण, सिँचाइमा व्यस्त भेटिनुहुन्छ । गएको वर्ष कृषि ज्ञान केन्द्रबाट बगान व्यवस्थापनका लागि दुई लाख रुपियाँ अनुदान पाउनुभएका चापागाईंलाई इलाम नगरपालिकाले गत वर्ष उत्कृष्ट किसानका रूपमा पुरस्कृत पनि गरेको थियो । थोरै अनुदान र पुरस्कारले मात्र किसानलाई नहुने चापागाईंको भनाइ छ । 

“अहिले सबै जसो युवामा विदेश जाने लहर छ तर स्थानीय, प्रदेश र केन्द्रीय सरकारले ती युवालाई रोक्न कृषि विस्तारमा लगानी गर्नु पर्छ ।” चापागाईं भन्नुहुन्छ, “सुन्तला, अलैँची, चिया जस्ता नगदे बालीबाट वार्षिक लाखौँ रुपियाँ आम्दानी हुन्छ, विदेश जाँदा हुने लगानीमा सरकारले थप गरिदिएर ती युवालाई कृषिमा लगाउनु र उत्पादित वस्तुको बजार व्यवस्थापन गर्ने हो भने आर्थिक समृद्धिका लागि अरू केही गर्न पर्दैन ।” कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो १५० रुपियाँदेखि दुई सय रुपियाँसम्म छ । धेरै जसो बगान बोट सुकेर रित्तिइसकेका छन् । बर्सेनि बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । यस वर्ष गत वर्षभन्दा निकै कम फल लागेको किसान बताउँछन् । 

यता कृषि ज्ञान केन्द्र इलामले भर्खरै मात्र यस वर्षको सुन्तला उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै गरेको केन्द्रका सूचना अधिकारी युरिका सुवेदीले बताउनुभयो । गएको आर्थिक वर्ष २०८१/८२ मा भने इलाममा ९८.५० हेक्टर जमिनमा मात्र सुन्तला खेती भएको थियो । सो आर्थिक वर्षमा ६५९.७५ मेट्रिक टन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्क छ । 

इलाम नगरपालिका–५, माईजोगमाईको नामसालिङ, रोङको वडा नम्बर ६ लगायतका क्षेत्रमा मात्र सुन्तला बढी उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।