• २९ मङ्सिर २०८२, सोमबार

खुल्यो तातोपानी नाका

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २९ गते । स्थानीयले बन्द गराएको सिन्धुपाल्चोकको तातोपानीस्थित नेपाल–चीन नाका अन्तर्गतको सडक आइतबारदेखि खुलेको छ । यससँगै सो नाकाबाट भन्सार जाँचपासको काम सुरु भएको छ । 

अरनिको राजमार्गको इको पहिरो निर्माणका लागि आफूहरूसँग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले एक सातादेखि सडक अवरुद्ध गरेका थिए । आइतबार भएको सहमति अनुसार सडक खुलेसँगै नाका सञ्चालनमा आएको हो ।

नाका बन्द हुँदा ३० करोड रुपियाँ बराबरको फलफूल नष्ट भएको छ । स्थानीयवासीको अवरोधका कारण एक सातादेखि तातोपानी नाका बन्द हुँदा ३० करोड रुपियाँ बराबरको फलफूल नष्ट भएको हो ।

हिमालय सीमापार वाणिज्य सङ्घका सदस्य एवं व्यवसायी शारदाप्रसाद पराजुलीले एक हप्तासम्म नाका बन्द हुँदा ४० प्रतिशत फलफूल नष्ट भएको जानकारी दिनुभयो । सीमानाकामा तीन सय कन्टेनर स्याउ  थुनिँदा ३० करोड रुपियाँको फलफूल कुहिएर नष्ट हुँदा व्यवसायीलाई ठुलो क्षति पुगेको जानकारी दिनुभयो । 

नासवान् सामान रोकिँदा स्याउको गुणस्तर खस्किने, बजारमा ढिला पुग्दा मूल्य घटनुका साथै भाडा, ब्याज र बिमा थपिने हुँदा व्यवसायीलाई ठुलो नोक्सान हुने गरेको उहाँको भनाइ छ । फलफूल लत्ताकपडा बोकेका तीन सय कन्टेनर सामान नाका रोकिएको उहाँले जानकारी दिनुभयो । 

नाका खुला भएका बेला पनि दिनमा पाँचदेखि १० कन्टेनर मात्र पास हुँदा व्यवसायीलाई दैनिक लाखौँ रुपियाँ आर्थिक भार पर्ने उहाँको भनाइ छ । आइतबारदेखि नाका खुला भए पनि चीनको भन्सारबाट कम सङ्ख्यामा गाडी छाडिएकाले रोकिएका सामान आउन धेरै समय लाग्ने उहाँले जानकारी दिनुभयो । फलफूल व्यवसायी सागर पोखरेलले एक सातासम्म नाका बन्द हुँदा फलफूलका सात कन्टेनर सामान बिग्रेर नष्ट भएको जानकारी दिनुभयो । नाका बन्द हुँदा स्याउ, किवी, अङ्गुर बिग्रेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । 

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले आइतबारदेखि नाका खुला भई सामान पास हुन थालेको जानकारी दिनुभयो । स्थानीयवासी र सडक विभागबिच सहमति भई नाका खुला भएको उहाँले जानकारी दिनुभयो । एक सातादेखि नाका बन्द हुँदा फलफूल नष्ट भएको उहाँले जानकारी दिनुभयो ।