• २६ मङ्सिर २०८२, शुक्रबार

अनुदानमा निर्मित जिरी माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन

blog

उद्घाटन गरिएको विद्यालय भवन । तस्बिर : सुजन काफ्ले

चरीकोट, मङ्सिर २६ गते । दोलखाको जिरी नगरपालिकामा चिनियाँ सरकारको अनुदान सहायतामा निर्माण गरिएको जिरी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।

एक कार्यक्रमका बिच उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले भवन उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै सचिव पौडेलले शिक्षा क्षेत्रको परिवर्तन बाट मात्रै समाज परिवर्तन हुने बताउनुभएको छ । उहाँले शैक्षिक क्षेत्रको बिकास मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधारको उपयोग गर्दै गुणस्तरीय र प्रविधि युक्त शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

आधुनिक समयानुकुलको शिक्षा प्रदान गर्नु पर्ने र जिल्लाभित्र मात्र होइन अन्य जिल्लाबाट पनि विद्यार्थी आएर पढ्ने वातावरण सिर्जना गर्नका नमुना विद्यालय बनाउनुपर्ने उहाँको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक कुमार जिरेलका अनुसार नयाँ पूर्वाधारले विद्यालयको शैक्षिक वातावरण अझै प्रभावकारी र आधुनिक बन्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो पूर्वाधारले  विद्यार्थी, अभिभावक तथा समुदाय सबैका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ । अब विद्यार्थीहरूले अत्याधुनिक कक्षाकोठा, पुस्तकालय, खेलमैदान, छात्रावास लगायत सुविधामार्फत अझ सहज रूपमा सिकाइमा सहभागी हुन सक्नुहुनेछ । विद्यालयको दीर्घकालीन विकासमा तपाईंहरूको निरन्तर साथ अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।

हामीले पाएको यो संरचना केवल भवन मात्र होइन, भविष्य निर्माण गर्ने आधार हो । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सकियोस् भनेर प्रत्येक पूर्वाधार योजना अनुसार निर्माण गरिएको छ । जिरेलले भन्नुभयो, ‘‘विद्यालय पूर्वाधार निर्माणका लागि नेपाल र चीनबिचको सम्झौता सन् २०१९ मे २८ मा भएको थियो । सम्झौता अनुसार  China 19th Metallurgical Group Corporation ले सन् २०२३ मार्चदेखि निर्माण कार्य सुरु गरेको हो । उक्त संरचनाको शिलान्यास २०८० वैशाख ४ गते गरिएको थियो ।

निर्माण कार्य सन् २०२५ जुलाईमा सम्पन्न भएपछि, तीन महिनापछि अर्थात् अक्टोबर १६ मा नेपालका लागि चीनका राजदूत चेन सोङले विद्यालय संरचना शिक्षा मन्त्रालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । विद्यालयको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर नयाँ संरचना आज विधिवत् उद्घाटन गरिएको प्रधानाध्यापक जिरेलले बताउनुभयो ।

सम्झौताअनुसार भौतिक पूर्वाधार निर्माणमा ७२ मिलियन RMB लागत लागेको छ । करिब ६,६२८ वर्ग मिटर क्षेत्रफलमा फैलिएको शैक्षिक भवन, सभाहल सहितको क्याफेटेरिया, पुस्तकालय, छात्र–छात्रा छात्रावास, शिक्षक आवास तथा खेलमैदान रहेको छ ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहा निर्देशक श्री महेन्द्र पराजुली जिरी नगरपालिकाका नगरप्रमुख श्री मित्र बहादुर जिरेल दोलखाका प्रमुख जिल्ला अधिकारी नारायण रिसाल नगरउपप्रमुख कृष्णमाया बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म गरी ५०७ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये कक्षा ११ र १२ तहमा विज्ञान, व्यवस्थापन तथा शिक्षा सङ्कायका कक्षाहरू सञ्चालन हुँदै आएको विद्यालयले जनाएको छ ।