काठमाडौँ, मङ्सिर २५ गते । लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सार्थक तुल्याउने क्रममा नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ ।
ककनी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहकार्य र आदि इत्यादि समूहको प्रस्तुतिमा यो नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले र भवानी माध्यमिक विद्यालय, ककनीलाई लक्षित गरी प्रदर्शन गरिएको थियो । नाटक प्रदर्शनको मुख्य उद्देश्य लैङ्गिक हिंसाका बहुआयामिक स्वरूपबारे विद्यार्थी र स्थानीय समुदायलाई सचेत गराउनु रहेको छ ।
करिब ५० मिनेट लामो सडकनाटकले समाजमा जरा गाडेका लैङ्गिक हिंसाका विभिन्न रूपलाई सशक्त र मार्मिक कलात्मक शैलीमा उजागर गरेको छ । नाटकमा विशेष गरी घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, मानसिक यातना र डिजिटल युगमा बढ्दै गएको साइबर बुलिङ जस्ता संवेदनशील विषयवस्तुलाई समेटिएको छ । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटकमा कलाकारहरू सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, निस्सोम मगर, अञ्जना दुलाल, अञ्जु खड्का र सन्ध्या नेपालको अभिनय रहेको छ ।