शेरबहादुर सार्की
बाजुरा मङ्सिर २६ गते । बाजुराको बडीमालिका नगरपालिकाले यहाँका वडामा छाउगोठ मुक्त घोषणा गर्ने कार्यक्रम सुरु गर्दै आएको छ ।
छाउप्रथा सामाजिक कुसंस्कारका रुपमा रहेको र यसले यहाँका धेरै महिला दिदिबहिनीहरुको ज्यान जोखिममा पार्दै गएकाले छाउप्रथालाई जरैदेखि उखेल्ने गरी सो पालिकाले छाउगोठ मुक्त घोषणा गर्ने अभियान सुरु गरेको हो ।
गत बुधबार मात्र पाकिलाले यहाँको वडा नं ८ लाई छाउगोठ मुक्त वडा घोषणा गरेको बडीमालिका नगरपालिकाले जनाएको छ ।
यहाँका वडाका ४५६ घरमा अनुगमनपछि उक्त वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अभियानले छाउपडी गोठमुक्त घोषणाका लागि ९० प्रतिशत घर गोठमुक्त हुनुपर्ने व्यवस्था छ । सोही अनुसार यसमा वडामा रहेका सबै घरमा छाउगोठ नभएकाले गत बुधबार पालिकाले यस वडालाई छाउगोठ मुक्त घोषणा गरेको छ । ”
बडीमालिका नगरपालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत यसअघि यहाँका वडा नम्बर १ र ७ बाहेकका अन्य सबै वडालाई छाउ गोठमुक्त वडा घोषणा गरेको उप्रमुख थापाले बताउनुभयो ।
यहाँका २ ,३, ४ , ५ , ६ , ८ र ९ वडालाई छाउगोठ मुक्त घोषणा गरिसकेका छन् । भने यहाँको १ र ७ नं वडामा पनि छाउगोठ मुक्त घोषणा गर्ने कार्यक्रम छ । त्यसपछि यस पालिका नै छाउगोठ मुक्त घोषणा गर्ने तयारी भइरहेको पालिकाले जनाएको छ ।
बाजुरामा योभन्दा पहिला पनि छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो । २०७५ पुस २५ गते बुढीनन्दा नगरपालिका–९, पाण्डुसैनमा छाउगोठमा सुतेको बेला आगलागी हुँदा ३५ वर्षीया अम्बा बोहरा, उहाँका नौ वर्षका छोरा सुरेश र सात वर्षका छोरा रमित बोहरा गरेर तीन जनाको ज्यान गएको थियो । त्यसपछि यहाँ छाउप्रथा ‘कुप्रथा’ हो भन्दै विभिन्न स्थानीय तहमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो ।
अभियानले बाजुराका नौ वटै स्थानीय तहमा ५११ वटा छाउगोठ भत्काएको थियो । अहिले फेरि यहाँका विभिन्न गाउँबस्तीमा छाउगोठ पुनर्निर्माण गरिएको पाइएकाले यती बेला ती गोठ भत्काउने कार्यक्रम सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लक्षमीराज जोशीले बताउनुभयो ।