जनार्जन खत्री
सर्लाही, मङ्सिर २६ गते । सर्लाही सदरमुकाम मलङ्गवामा तीन वर्षअघि नै निर्माण भएको सुविधायुक्त बसपार्क सञ्चालन गर्न नगरपालिका कार्यालयलाई निकै सकस परेको छ ।
गएको आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकमा पुस १ गतेदेखि बसपार्क सञ्चालन गर्ने गरी मलङ्गवा नगरपालिका कार्यालयले तयारी अघि बढाउने निर्णय भएको थियो । बस व्यवसायीले मलङ्गवा नगरपालिका–९, मा वर्षौदेखि प्रयोग गर्दै आइरहेको कृषि विकास बैंकको जग्गामा रहेको पुरानो बसपार्क छाड्नै मानेका छैनन् ।
कृषि विकास बैंकले आफ्नो जग्गामा रहेको बसपार्क खाली गराइदिन स्थानीय प्रशासनलाई पत्र लेखेरै आग्रह गरिसकेको छ । अब सो जग्गामा आफ्नै भवन बनाउने कृषि विकास बैंकको तयारी रहेको छ ।
सुविधासम्पन्न नयाँ बसपार्क निर्माण भएपछि पनि बजारको बिचमा रहेको पुरानो बसपार्कबाटै बस छुट्ने गरेकाले बजार क्षेत्र अस्तब्यस्त बनेको गुनासो निरन्तर आइरहेको छ, तर नगरपालिकाले सुविधायुक्त नयाँ बसपार्क सञ्चालन गर्नै सकेको छैन । सिडियो कार्यालयमा भएको निर्णयपछि नगरपालिका कार्यालयले मङ्गलबार मात्रै यातायात व्यवसायीसहितका सरोकारावालालाई उपस्थित गराएर बसपार्क सञ्चालनबारे छलफल गरिसकेको छ ।
उक्त छलफलमा बस व्यवसायीलाई पुस १ गतेदेखि जसरी पनि नयाँ बसपार्कमा बस राख्न र त्यहाँबाट छुटेर राजश्री चोक, टावर चोक हुँदै जिविस चोकमा बस निकाल्न निर्देशन दिइएको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् उपसचिव होमप्रसाद घिमिरेले जाानकारी दिनुभयो । घिमिरेका अनुसर टेम्पु, म्याजिकसहितका साना सवारीलाई भने जिविस चौरमा मन्दिर निर्माण भइरहेको स्थल नजिकै पार्किङ गरेर त्यहाँबाट मात्रै छुट्ने व्यवस्था मिलाइएको छ ।
यो निर्णयमा केही बस व्यवसायीले असन्तुष्टि व्यक्त गरेर नगरपालिकाले आयोजना गरेको छलफल नै बहिष्कार गरेर निस्किएका थिए । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले यो निर्णयलाई सबैले स्वीकार गरेर तोकिएकै स्थानमा सवारी पार्किङ गरेर निर्धारित रुट अनुसार छुट्नु पर्ने छ ।
अब बहानाबाजी नचल्ने घिमिरेको भनाइ छ । उहाँले भन्नुभयो, “बसपार्क सञ्चालनबारे अब कुनै सम्झौता हुँदैन, सबै यातायात व्यवसायीले निर्णय स्वीकार गर्नै पर्छ हुन्छ ।”
नगरपालिका कार्यालयले अब स्थानीय प्रशासनको समेत साथ लिएर जसरी भए पनि नयाँ बसपार्क सञ्चालनको तयारी गरेको छ । सङ्घीय सरकारले आठ करोड ३१ लाख रुपियाँ खर्चिएर निर्माण गरेको बसपार्क केही समयअघि नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
बसपार्कमा टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतिक्षालय, वर्कशप क्षेत्र, पार्किङसहितको सुविधा रहेका छन् । नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बारम्बार निर्णय भएर पनि कार्यान्वयन नभएकाले यो पटक पनि बसपार्क पूर्ण सञ्चालनमा आउनेमा शङ्का व्यक्त गर्नुभएको छ ।