हुम्ला समाचारदाता
हुम्ला, मङ्सिर २६ गते । हुम्ला सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकाका सेवाग्राहीले हाल दैनिक ११ घण्टा लोडसेडिङको मार खेपिरहेका छन् । हिल्दुम विद्युत् वितरण केन्द्रले उत्पादन गर्ने विद्युत् घट्दै गएपछि स्थानीय लोडसेडिङको मारमा परेका हुन् । हिउँद लागेसँगै केन्द्रको विद्युत् उत्पादन गर्ने पावरहाउसका लागि मुहानमा पानीको स्रोत घट्दा लोडसेडिङ समय बढाउनु परिरहेको केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनुभयो । हालसम्म हिमपात नहुँदा पानीको स्रोत दैनिक रूपमा घट्दै गइरहेको छ । त्यसले लोडसेडिङ बढेको उहाँले बताउनुभयो ।
सिमकोट बजार क्षेत्रमा हाल दैनिक ११ घण्टाभन्दा बढी समय लोडसेडिङ गर्नु परिरहेको बताउँदै उहाँले यो लोडसेडिङ अझै बढ्ने बताउनुभयो । गत वर्ष यो समयमा १७ घण्टासम्म लोडसेडिङ भएको थियो । हाल केन्द्रले डेढ सयदेखि दुई सय किलोवाट विद्युत् आपूर्ति गर्ने गरेको बताउँदै प्रमुख शाहले सिमकोट बजारमा मात्र सात सय किलोवाट विद्युत् माग रहेको बताउनुभयो ।
केन्द्रले दुई हजार सात सयभन्दा बढी ग्राहकलाई विद्युत् आपूर्ति गर्दै आएको छ । केन्द्रले दुई/तीन घण्टा लोडसेडिङ बर्खायाममा गर्ने गरेर र हिउँदमा जहिल्यै पनि तालिका बढाउने गरेको सिमकोट बजारका अमर विकले बताउनुभयो । यसले गर्दा विद्युत्बाट गरिने कार्यसमेत प्रभावित भएको उहाँले बताउनुभयो । केन्द्रले पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने गरी १६ वर्षअगाडि हिल्दुम जलविद्युत् आयोजना निर्माण गरेको भए पनि हालसम्म सो आयोजनाबाट तीन सयभन्दा बढी विद्युत् उत्पादन कहिल्यै गर्न सकेको छैन ।