• २७ मङ्सिर २०८२, शनिबार

प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

blog

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ।

लीलाधर वली 
घोराही, मङ्सिर २६ गते ।
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले सूचना प्रकाशित गर्दै सात दिनभित्र दरखास्त दिन आह्वान गरेको छ । समितिले मङ्सिरको २५ गते गोरखापत्र दैनिकमा सूचना निकालेको हो ।

प्रतिष्ठानका कुलपतिलार्ई उपकुलपति सिफारिस गर्न सहयोग गर्ने उद्देश्यले प्रकाशित सूचनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ र प्रतिष्ठानका पदाधिकारीको बैठक, काम, कर्तव्य तथा पारिश्रमिकसम्बन्धी नियमावली–२०७४ मा उल्लेखित योग्यता पूरा गर्ने व्यक्तिले आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

यसअन्तर्गत उपकुलपति पदमा मनोनित हुने व्यक्तिले प्रतिष्ठानका विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन, योजनाको प्रभावकारी कार्यान्वयन, समन्वय, प्रशासनिक नेतृत्व तथा सुदृढ व्यवस्थापन जस्ता जिम्मेवारी वहन गर्नु पर्नेछ ।

इच्छुक उम्मेदवारले आफ्नो शैक्षिक योग्यतासहित कार्यानुभव, आवश्यक कागजात तथा पेसागत योजना स्पष्ट रूपमा उल्लेख गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सिंहदबारस्थित सिफारिस समिति सचिवालयमा आवेदन दिन सक्ने सूचनामा भनिएको छ ।

गत २९ असोजमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.लामिछानेले राजीनामा दिएको करिव दुई महिनासम्म नयाँ नियुक्ति हुन सकेको थिएन ।

प्रतिष्ठानमा उपकुलपति पद रिक्तसँगै कसैलाई निमित्तको जिम्मेवारी नदिदा प्रतिष्ठानमा महत्त्वपूर्ण काम गर्दा समस्या भएको प्रतिष्ठानका राजिष्टार प्रा. डा. श्याम लम्सालले जानकारी दिनुभएको छ । निमित्त उपकुलपतिको जिम्मासमेत कसैलाई नदिदा प्रतिष्ठानको प्रशासनिक कामकाज दुई महिनादेखि प्रभावित बनेको थियो ।

कर्मचारीलार्ई तलब खुवाउने र दैनिक कामकाज बाहेकका अन्य प्रशासनिक कामहरू सबै प्रभावित भएका छन् । प्रतिष्ठानका प्रशासनिक हरेक कामकाज प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकबाट निर्णय भएर मात्रै लागु हुन्छ । यो कार्यकारी परिषद्को बैठक उपकुलपतिको अध्यक्षतामा बस्ने गर्छ तर उपकुलपतिविहीन प्रतिष्ठानको यो बैठक करिब दुई महिनादेखि बस्न सकेको छैन ।