• २६ मङ्सिर २०८२, शुक्रबार

जेनजी आन्दोलनले खोसेको सुविधा,फोन बजिरहन्छ शववाहन छैन

blog

शशिधर पराजुली 

विराटनगर, मङ्सिर २६ गते  । विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलको मोबाइलमा घन्टी नबजेको सायदै कुनै दिन होला । उताबाट आउने आवाजमा प्रायः पीडा, हतारो र आपत् झल्किन्छ “सर, शववाहन चाहियो, आपत् प-यो ।” दुई वर्षअघिसम्म उहाँको जवाफ ‘पठाइहाल्छौँ’ भन्ने हुन्थ्यो तर केही महिनायता पौडेलको जवाफ फेरिएको छ । उहाँ विवश हुँदै भन्नुहुन्छ, “माफ गर्नुहोला, जेनजी आन्दोलनमा गाडी जल्यो, अहिले हामीसँग शववाहन सेवा छैन ।”

यो संवाद केवल एक प्रहरी निरीक्षक र सेवाग्राहीबिचको कुराकानी मात्र होइन, यो अहिले सिङ्गो विराटनगरवासीले भोगिरहेको नियति हो । करिब दुई वर्षसम्म नगरवासीको दुःखको साथी बनेको महानगरको निःशुल्क शववाहन सेवा खरानीमा परिणत भएपछि नागरिक उक्त सुविधाबाट वञ्चित हुनु परेको छ । केही समयअघि भएको ‘जेनजी आन्दोलनका क्रममा महानगरको एक मात्र शववाहनमा आगजनी भएपछि विपन्न र मध्यमवर्गीय परिवारले आफ्ना प्रियजनको अन्तिम संस्कारका लागिसमेत सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको छ । महानगर प्रहरी निरीक्षक पौडेल भन्नुहुन्छ, “महानगरको शववाहन केवल एउटा गाडी मात्र थिएन, त्यो आपत्को सहारा थियो । धनीमानीले त जसरी पनि व्यवस्था गर्लान तर आर्थिक अवस्था कमजोर भएकाहरूका लागि त्यो गाडी ठुलो राहत थियो । अझ दुर्घटना, आत्महत्या जस्ता घटनामा त यसको महìव अझ बढी थियो ।’’

वास्तवमै, दुर्घटना वा आत्महत्या जस्ता प्रहरी मुचुल्का उठाउनुपर्ने घटनामा निजी एम्बुलेन्स वा अन्य सवारीसाधनले शव बोक्न मान्दैनन् । विगतमा यस्तो बेला महानगरको गाडी जुनसुकै समयमा पनि घटनास्थल वा अस्पताल पुग्थ्यो । अहिले एउटा शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजान वा अस्पतालबाट घाटसम्म पु-याउन घन्टौँ कुर्नुपर्ने बाध्यता छ । आफन्त गुमाउनुको पीडामाथि शववाहन नपाउँदाको छटपटीले मृतकका परिवारलाई थप आहत बनाउने गरेको छ ।

विराटनगरमा शववाहनका अरू धेरै विकल्प पनि छैन । विराटनगरमा स्मृति घाटसँग एउटा शववाहन छ, तर त्यो पनि पुरानो भइसकेकाले बारम्बार बिग्रिरहन्छ । अर्कातर्फ त्यो व्यावसायिक प्रयोजनका लागि भएकाले शुल्क  तिर्नु पर्छ । कहिलेकाहीँ विराटनगरबाहिर गइदिँदा नगरवासीले चाहेको बेलामा प्रयोग गर्न पाउने अवस्था नै हुँदैन । पौडेल भन्नुहुन्छ, “महानगरको गाडीले घरबाट घाट मात्र होइन, अस्पतालबाट घर र घरबाट घाटसम्मको सेवा निःशुल्क दिन्थ्यो । अहिले त्यो सुविधा खोसिँदा जनताले धेरै दुःख पाएका छन् ।”

शववाहन अभाव खड्किएपछि र जनगुनासो बढ्दै गएपछि विराटनगर महानगरपालिकाले पुनः खरिद गर्ने तयारी थालेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले जनताको अत्यावश्यक सेवालाई ध्यानमा राख्दै नयाँ गाडी खरिद गर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल सुरु गरेको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “शववाहन खरिद गर्दा भन्सार महशुल छुट हुने र अन्य कर पनि नलाग्ने भएकाले ठुलो खर्च पनि पर्दैन ।” आगजनीमा परेर महानगरपालिकाका धेरै सवारीसाधन जलेर नष्ट भए । फोहोर बोक्ने टिप्पर, ट्याक्टर, सडक मर्मत गर्ने लोडर, जेसिबी जस्ता साधन जलेर नष्ट भएका थिए ।