• २७ मङ्सिर २०८२, शनिबार

नागढुङ्गा–मलेखु सडक विस्तार तीव्र

blog

धादिङबेँसी समाचारदाता 

धादिङबेँसी, मङ्सिर २६ गते । नागढुङ्गा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ । कालोपत्रेसहितको स्तरोन्नति गर्न नागढुङ्गा–मुग्लिङ सडक आयोजनाले बुधबारदेखि पुस १ सम्म दैनिक पाँच घण्टा यातायात बन्द गरेर कामलाई गति दिएको हो । 

नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सडक आवागमन बन्द गरेको छ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई तोकिएको समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको नागढुङ्गा–मुग्लिङ सडकको पूर्वी खण्डका योजना प्रमुख केशव ओझाले जानकारी दिनुभयो । हाल विभिन्न स्थानमा पुरानो सडक पिच भत्काएर नयाँ पिचका लागि तयारी भइरहेको छ । साँघुरा सडकखण्ड भित्ता काटेर विस्तार गरिँदै छ भने कतिपय ठाउँमा तल्लो सतहबाट पर्खाल उठाउनेलगायतका काम भइरहेको छ । 

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्रे गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । हाल उक्त सडकखण्डको काम ८० प्रतिशत सकिएको छ । तीन खण्डमा सडक विस्तारको काम भइरहेको मुग्लिङ–नागढुङ्गा सडकको एउटा खण्डको काम ८० प्रतिशत सकिएको हो । नागढुङ्गादेखि नौबिसेसम्म १२.२६ किलोमिटर सडकको काम ८० प्रतिशत सकिएको नागढुङ्गा–मुग्लिङ सडकको पूर्वी खण्डका योजना प्रमुख केशव ओझाले जानकारी दिनुभयो । 

योजना प्रमुख ओझाका अनुसार सडकको दोस्रो तहको कालोपत्रे नौबिसेदेखि पिप्लामोडसम्म सम्पन्न भइसकेको छ । अब बाँकी काम फागुनभित्रै सक्ने लक्ष्यका साथ योजना अघि बढेको छ । “कुनै ठुलो वा विषम परिस्थिति नआए तोकिएको समयसीमाभित्रै सबै काम सम्पन्न गर्छौं,” ओझाले भन्नुभयो । सडकमा अब तेस्रो तहको कालोपत्रे, खानीखोलामा आकासे पुल निर्माण तथा सडक सुरक्षाका लागि रोड फिनिसिङ र क्यास ब्यारियरहरू जडान गर्ने काम मात्र बाँकी छ । सडक निर्माण कार्यमा हाल सवारी व्यवस्थापन सबैभन्दा ठुलो चुनौती बनेको छ । योजना प्रमुखका अनुसार सडक चौडा भएका स्थानमा सवारी आवागमन नरोकी काम गर्न सकिए पनि पिप्लामोडदेखि नागढुङ्गासम्मको खण्ड अत्यन्तै साँघुरो र घुमाउरो भएकाले समस्या बनेको छ ।

“ठुला कन्टेनर र बसले गर्दा निर्माण सामग्री बोक्ने टिप्पर र कालोपत्रे ओसार्नसमेत बाटो नहुने अवस्था आयो,” उहाँले भन्नुभयो । यस अवस्थालाई ध्यानमा राखी बाँकी रहेको दोस्रो तहको कालोपत्रे कार्य सम्पन्न गर्न बुधबारबाट एक हप्तासम्म दिउँसोको समयमा सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरिएको छ । यस विशेष व्यवस्थाले बाँकी कालोपत्रे कार्य छिट्टै सकिने विश्वास आयोजनाको छ । 

त्रिभुवन राजपथको नागढुङ्गादेखि पृथ्वी राजमार्गको मुग्लिङसम्मको सडक स्तरोन्नति तीन वटा छुट्टाछुट्टै प्याकेजमा भइरहेको छ । पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिङ छुट्याइएको छ । पहिलो प्याकेज अन्तर्गत नागढुङ्गा–नौबिसे १२.२६ किलोमिटर, दोस्रो ४३.५४ किलोमिटर र तेस्रो ३८.८६ किलोमिटर छ । सङ्घीय राजधानी प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा–नौबिसे सडकखण्डको काम फागुनभित्रै सक्ने गरी निर्माण कार्य तीव्र बनाइएको आयोजनाले जानाएको छ ।