अमरराज नहर्की
तनहुँ, मङ्सिर २६ गते ।
‘सुनकै भाउ छ सुन्तला भारीको
चाखी जानु भन्ने मन टाढी गो...’
कुन्ती मोत्तानको स्वर र शिलाबहादुर मोत्तानको सङ्गीत रहेको यो चर्चित गीतको भाव यतिबेला तनहुँका सुन्तला बजारमा ठ्याक्कै मेल खान्छ । सुन्तलाको मूल्य आकासिएपछि उपभोक्ताका लागि यो साँच्चै ‘सुन’ जस्तै महँगो भएको छ भने कृषकका लागि आम्दानीको ‘सुनौलो’ स्रोत ।
कुनै समय घर वरिपरि सौन्दर्यका लागि रोप्ने, आफूले खाने र आफन्तलाई कोसेली पठाउन मात्र सीमित सुन्तला खेती अहिले तनहुँका किसानका लागि व्यवसायिक सफलताको पर्याय बनेको छ । परम्परागत खेती प्रणालीबाट व्यवसायिक बनेका यहाँका कृषकहरू सुन्तला बेचेरै लखपति मात्र होइन, करोडपति बन्ने अवस्थामा छन् ।
लखपति किसानका सफलताका कथा
म्याग्दे गाउँपालिका–२, उमाचोकका कृषक शुकनारायण श्रेष्ठका लागि सुन्तलाको बोटले सुन फलाए सरह भएको छ । “पहिले सौखका लागि पालिएको सुन्तला अहिले सुन सरी भएको छ,’’ यस वर्ष सुन्तला बेचेर ६५ लाख रुपियाँ हात पारेका श्रेष्ठले भन्नुभयो । उहाँ जिल्लाकै नमुना सुन्तला कृषकको रूपमा चिनिनुहुन्छ ।
सोही ठाउँका विश्वबहादुर अधिकारी र उहाँका भाइ निर्मल अधिकारीको सफलता पनि लोभलाग्दो छ । साविक जिल्ला विकास समितिका दुई पटक सभापति रहनुभएका विश्वबहादुर अहिले राजनीति छोडेर पूर्णकालीन व्यावसायिक कृषक बन्नुभएको छ । अधिकारी दाजुभाइले सुन्तला खेतीबाटै वार्षिक ६० लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । राजनीतिबाट टाढिएर कृषि कर्ममा लाग्दा नाम र दाम दुवै मिलेकोमा उहाँ सन्तुष्ट हुनुहुन्छ ।
यस्तै, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष एवम् कृषक भीमबहादुर रानाले पनि यस वर्ष सुन्तलाबाट ३० लाख रुपियाँ आम्दानी गर्नुभयो । “मेरा लागि सुन र सुन्तला उस्तै हुन्, बोटमा सुन्तला होइन सुन फलेजस्तो लाग्छ,’’ रानाले अनुभव सुनाउनुभयो ।
बगैँचाबाटै उठ्छ उत्पादन
सुन्तलाको माग यति उच्च छ कि ठेकेदारहरू बगैँचामै पुगेर अग्रिम खरिद गर्छन् । म्याग्दे गाउँपालिका–३ उमाचोकका कृषक निर्मलबहादुर अधिकारीका अनुसार बोटका सुन्तला निख्रिसकेका छन् । “बजारमा गए किनेर खान पाइएला, तर यतिबेला बगैँचामा सुन्तला छैन, बोट रित्तिसके,’’ उहाँले भन्नुभयो । उमाचोक सुन्तला पकेट क्षेत्रका पूर्व अध्यक्ष समेत रहनुभएका अधिकारीले उमाचोकबाट मात्रै करिब साढे दुई करोडको सुन्तला बिक्री भएको जानकारी दिनुभयो । “चखाउनका लागि भनेर कसैले राख्दैनन्, सबैलाई बिक्री गरेर गोजी भर्ने ध्यान छ ।’’ उहाँले थप्नुभयो । ८५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएका अधिकारी परिवारले मात्रै यो सिजनमा ६० लाख आर्जन गरेको बताएका छन् ।
व्यास नगरपालिका–१३, बेनिकोटका किसानले पनि यस वर्ष दुई करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । सोही ठाउँका एक किसानले मात्रै १६ लाख ५० हजारको सुन्तला बेचेको तथ्याङ्क छ ।
जिल्लामा भित्रियो ४२ करोड
कृषि विकास कार्यालय तनहुँका अनुसार सुन्तला खेती जिल्लाको आर्थिक मेरुदण्ड बन्दै गएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा ११ हजार ५ सय १८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा किसानहरूले ४२ करोड ५० लाख रुपियाँ भन्दा बढी आम्दानी गरेका थिए ।
उच्च बजार माग, सुलभ बजार पहुँच र सरकारले सञ्चालन गरेका प्रवर्धनात्मक कार्यक्रमले किसानहरूको आकर्षण बढेको छ । बगैँचा सुदृढीकरणदेखि नयाँ बिरुवा रोपण अभियानले पहाडी भू–भागमा कृषिको नयाँ सम्भावनाको ढोका खोलेको छ । स्थिर बजार र उत्पादनमैत्री वातावरणका कारण तनहुँ गण्डकी प्रदेशकै प्रमुख सुन्तला उत्पादन केन्द्रका रूपमा स्थापित हुँदैछ । आगामी वर्ष उत्पादन अझ बढ्ने अपेक्षासहित तनहुँका पहाडहरू यतिबेला ‘सुन्तलामय’ बनेका छन् ।