हुम्ला, मङ्सिर २६ गते । सामाजिक विकास कार्यालयले डिजिटल प्रविधि जडानसहित सेवा प्रदान गर्न सुरु गरेको छ । कर्णाली प्रदेशअन्तर्गतका दस वटै जिल्ला मध्य सामाजिक विकास कार्यालय हुम्ला पहिलो प्रविधि मैत्री भएको हो ।
नयाँ सुविधा सम्पन्न भवनका साथै नयाँ आधुनिक प्रविधि जडान गरेर कार्य सञ्चालन गरिएपछि सामाजिक विकास कार्यालय हुम्ला प्रविधि मैत्री भएको कार्यालय प्रमुख इश्वरबहादुर सिंहले बताउनुभयो । एक औपचारिक कार्यक्रमको आयोजना गरेर नयाँ निर्माण गरिएको भाडाको भवनमा सामाजिक विकास कार्यालयलाई प्रविधि जडान गरेर सञ्चालनमा ल्याउने कार्य भएको हो ।
पहिलो चरणअन्तर्गत सिसिटिभि क्यामरा जडान, डिजिटल सूचना बोर्ड र ई–हाजिरी एक साथ जडान गरेर सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका अन्य नौ जिल्लामा हुन नसकेको कार्यालयमा प्रविधि जडान कार्य हिमाली जिल्ला हुम्लामा सम्भव भएको छ । डिजिटल बोर्ड स्थापना गरेर कार्यालयबाट सम्पादन हुने सबै कार्यको विवरण त्यसमा राखिएको छ । अर्को कुरा सो बोर्डमा सेवाग्राहीले सेवा लिँदा आवश्यक पर्ने कुराका लागि कागजातको बारेमा पनि जानकारी राखिएको छ ।
त्यसैगरी, कार्यालयमा कार्यरत सबै कर्मचारीहरुले बुधबारबाट ई–हाजिरी गर्ने व्यवस्था गरिएको छ । साथै प्रत्येक फाँटमा कर्मचारी गरेको कामको अवस्था, सेवाग्राहीलाई सेवा प्रवाह गर्दाको दृश्य हेर्न सकिने गरी सिसिटिभी क्यामरा जडान गरिएको छ । सबै कुरा अहिले प्रविधिसँग सम्बन्धित भइसकेको अवस्थामा कार्यालयलाई प्रविधि मैत्री बनाइएको हो ।
अब केही दिनमा सेवाग्राहीहरुलाई सेवा दिनका लागि टोकन प्रणाली पनि लागू हुनेछ । प्रविधि स्थापना गरेर प्रयोगमा आइसकेकाले अब यसलाई प्रभावकारी कार्य सम्पादन र दिगो रुपमा सञ्चालन गरी राख्न चुनौतीका रुपमा रहेको छ । कार्यालयमा जडान गरिएका तीन किसिमका प्रविधिको उद्घाटन गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले अब सबै कार्यालय डिजिटल मैत्री हुन आवश्यक रहेको बेला सामाजिक विकास कार्यालयले त्यसको सुरुवात गरेको बताउनुभयो ।
प्रविधिको प्रयोग गरेर कार्यालयहरुलाई कागतविहीन बनाउन आवश्यक रहेको र ढिलो चाँडो सबै कार्यालयहरु प्रविधि मैत्री निर्माण गरिनुपर्ने उहाँले बताउनुभयो । यी प्रविधि जडानका लागि कार्यालयले साढे चार लाख बजेट लगानी गरेको छ । चालु आर्थिक वर्षमा हालसम्म सामाजिक विकास कार्यालय हुम्ला कार्य सम्पादनमा पनि अगाडि रहेको छ । यस वर्ष निर्माण गरिने सबै योजना समेत कार्यान्वयनमा आइसकेका छन् ।