• २५ मङ्सिर २०८२, बिहिबार

सडक निर्माणमा बालुवाको सट्टा माटो प्रयोग

blog

बालुवाको सट्टा प्रयोग गर्न थुपारिएको माटो र निर्माणाधीन पर्खाल । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, मङ्सिर २५ गते  । डडेलधुराको भातकाँडा–बडाल–रेल सडक निर्माणमा बालुवाको सट्टा माटो प्रयोग गरिएको भेटिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिका–१, रुवाखोला भएर डोटीको शिखर नगरपालिका जोड्ने मुख्य सडकका रूपमा लिइएको सो भातकाँडा–बडाल–रेल सडक समयमै निर्माण हुन नसक्दा बारम्बार प्रश्न उठ्ने गरेको छ । यही सडकखण्ड कालोपत्रे गर्ने निर्माण व्यवसायीले बालुवाको सट्टा माटो र कमसल गिट्टी प्रयोग गरेको भेटिएको छ । 

स्थानीय सुरेन्द्र चन्दका अनुसार मङ्गलबार मात्रै माटो प्रयोग गरेर बनाइएको पर्खाल स्थानीयको विरोधपछि भत्काइएको छ । गुनासो बढेपछि डडेलधुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालासहितको टोलीले सडकखण्डको अनुगमन गरेको छ । अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी कोइरालाले अत्यधिक लो बिडिङ, गुणस्तरहीन सामग्री प्रयोग, समयमै काम नगर्ने र गैरजिम्मेवारीपन देखिएको बताउनुभयो । 

भातकाँडा–बडाल–रेल सडकको साढे चार किलोमिटर खण्ड कालोपत्रे गर्न आर्थिक वर्ष २०७८/७९ मै ठेक्का सम्झौता भएको तर हालसम्म सडक कालोपत्रे हुन सकेको छैन । योभन्दा पछि ठेक्का लागेका सडकखण्ड गत वर्ष नै कालोपत्रे भइसकेका छन् । २०५२ सालमै ट्र्याक खोलिएको सो सडक कालोपत्रे हुन नसकेको भन्दै बारम्बार प्रश्न उठ्ने गरेको छ । डडेलधुरा–अत्तरिया जोड्ने महाकाली राजमार्गको भातकाँडा बजारदेखि साढे चार किलोमिटर सडकखण्ड कालोपत्रे गर्न अनक जोशी मालिका निर्माण कम्पनीसँग साढे नौ करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पर्खाल निर्माणका क्रममा बालुवाको सट्टा त्यही खनिएको माटो र गिट्टीको सट्टा त्यहीका ढुङ्गा कुटेर गुणस्तरहीन कमसल काम गरिरहेको भेटिएको हो । स्थानीयवासीका अनुसार निर्माणस्थलमा बालुवाका नाममा माटो हालिएको छ भने गिट्टी पनि कमसल गुणस्तरको प्रयोग गरिएको छ । 

पाँच वर्षसम्म सडक निर्माणको काम अड्किएको र अहिले प्रयोग भइरहेका सामग्री पनि कमसल रहेको स्थानीय सन्तोष देउवाले बताउनुभयो । “विगतदेखि कमसल खालको बालुवा र गिट्टी प्रयोग गरिरहेको छ । सडक डिभिजन कुलपातेका डी सापलाई फोन गर्दा उठाउनुहुन्न,” उहाँले भन्नुभयो, “बालुवाको ठाउँमा माटो प्रयोग गरिएको छ । सिमेन्ट पनि एक्सपायर भएको प्रयोग भएको छ ।” यो सडकखण्ड २६ महिनाभित्र काम गरेर सम्झौता भए पनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन । सडक डिभिजन कार्यालय डोटीका सबइन्जिनियर विव्रmम शर्माका अनुसार निर्माण कम्पनीले काम सुस्त गरिरहेको छ । हालसम्म करिब ४१ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो सडकखण्ड कालोपत्रेका लागि २०७८ माघमा ठेक्का सम्झौता भएको थियो । २०८० चैत मसान्तमा कालोपत्रेको काम सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता भए पनि यो समयभित्र काम सुरु नै गरिएको थिएन । गत वर्ष मात्रै कटिङ र पर्खाल लगाउने काम म्याद थप गरेको थियो । २०८२ असार मसान्तभित्र काम सम्पन्न गर्ने गरेर म्याद थप भएपछि अहिले फेरि पर्खाल लगाउने काम भइरहेको छ । निर्माण कम्पनी अनक जोशी मालिका महेन्द्रनगरका सञ्चालक रघुवीर साउदले गत वर्ष सडक कटिङ र पर्खाल लगाउने काम गरेपछि म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो ।