• २५ मङ्सिर २०८२, बिहिबार

मुस्ताङमा लैङ्गिक हिंसा र चिसोबाट बच्न २६ वटा सचेतनामुलक अभियान

blog

जिल्ला प्रहरी कार्यालयबाट आयोजित सचेतनामुलक अभियानमा सहभागि विद्यार्थी । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २५ गते ।
चिसो ह्वात्तै बढेको उपल्लो मुस्ताङमा प्रहरीले समुदायमा पुगेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसँगै जाडोबाट जोगिन २६ बटा सचेतनामुलक अभियान सञ्चालन गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घरदैलोमा पुगेर हिंसा न्यूनीकरणसहित बालबालिका, वृद्धवृद्धालाई चिसोबाट जोगिने उपायहरू समेत सिकाउने गरिएको छ । बिहान र बेलुकीको समयमा अत्याधिक चिसोका कारण विस्तारै पातलिँदै गएको बस्तीमा रहेका समुदायलाई हिंसा न्यूनीकरण, डिजिटल प्रविधिबाट हुने अपराध, लागुपदार्थको सेवन लगायत मौसम अनुकूल सन्देश समेत सुनाउने गरिएको प्रहरी निरीक्षक प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो ।

बस्यालले भन्नुभयो, ‘‘जाडोयाममा बस्तीमै रहनुभएकाहरुको अवस्था बुझ्ने गरी यूनिट परिचालन गरिएको छ, यो समयमा गाउँमै रहनेहरूको सुरक्षा र अवस्था बुझ्न अभियानले पनि सघाएको छ ।’’ उपल्लो मुस्ताङमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालयले स्थानीय जनप्रतिनिधिसँग समेत समन्वय गरी बालबालिका, वृद्धवृद्धालाई चिसोबाट जोगाउन विभिन्न उपायहरू सिकाइएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ ।

सूचना अधिकारी बस्यालका अनुसार १६ दिने अभियानमा बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङदेखि माथिल्लो क्षेत्रमा पर्ने लो घेकर दामोदरकुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा १४ वटा कार्यक्रम र थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिकामा १२ वटा कार्यक्रम गरिएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित सदरमुकाम जोमसोम बजारसहित जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरी अभियान मनाउन थालिएको थियो । मुस्ताङलाई लैङ्गिक हिंसाविरुद्धको अभियान प्रभावकारी बनाउँदै लैङ्गिक हिंसारहित जिल्लाको रुपमा स्थापित गर्ने अभियानमा समुदायस्तरबाट समेत सहयोग गरेका छन् ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्र संघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियानहरु सुरु भएको पाइन्छ । हिंसा प्रायः महिलामाथि हुने गरेको भनिए पनि पुरुष समेत हिंसाको सिकार बनेका घटना धेरै रहेकाले समाजमा रहेका सबै प्रकारका हिंसाको अन्त्यका लागि दिवसलाई प्रभावकारी बनाउनुपर्नेमा मुस्ताङका सरोकारवाला निकायले जोड दिएका छन् ।