बाबुराम देवकोटा
सिन्धुलीमाढी, मङ्सिर २५ गते । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीस्थित ढुङ्ग्रेबास बजार र धुरा बजारलाई जोड्ने ग्वाङखोलामा निर्माणाधिन पक्कि पुल अलपत्र बन्न पुगेको छ ।
सङ्घीय सरकारको साढे आठ करोड रुपियाँ लागतमा पाँच वर्ष अघि निर्माण सुरु गरिएको उक्त पुल निर्माणमा भएको ढिला सुस्तीले अलपत्र अवस्थामा पुगेको स्थानीयको गुनासो छ । सदरमुकामकै मुटुमा रहेको उक्त पुल समयमा निर्माण सम्पन्न नहुँदा वर्षाको मौसममा स्थानीय जोखिम मोलेर उक्त खोला वारपार गर्न बाध्य भएका ढुङ्ग्रेबास बजार निवासी दिपेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘‘ठेकदारकै ढिला सुस्तीले पुल निर्माणमा ढिलाई भइरहेको छ । जग्गा विवादको कुनै समस्या छैन । काम नगर्न ठेक्दारले जग्गा विवादको समस्या देखाएको सुनिन्छ ।’’ कमलामाई नगरपालिका वडा नं. ४ र ६ लाई जोड्ने ग्वाङ्खोला उक्त पुलको ढलान भने दुई वर्ष अघि नै भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त पुलको निर्माण सुरु गरेपछि ग्वाङ्खोलामा नै अन्य तीन वटा पक्कि पुल निर्माण सुरु गरी सम्पन्न भएर सञ्चालनमा आई सकेका छन् । तर निर्माणमा भएको ढिला सुस्तीले ढुङ्ग्रेबास बजार र धुरा बजारलाई जोड्ने पुल कहिले निर्माण सम्पन्न हुने हो ? ठेगान छैन । पुल समयमा निर्माण पूरा नहुँदा मानिस लडेर ज्यान जाने उत्तिकै जोखिम छ ।
पुल निर्माण सुरु गर्ने बेलामा खनेको खाडलमा डुबेर एक जना बालकको ज्यान समेत गएको स्थानीय बासिन्दा बताउछन् । उक्त पुल निर्माणमा खटिएका प्राविधिक निरोज महर्जनका अनुसार महादेव खिम्ती–अन्जना–सारस जेभिले भ्याटसहित आठ करोड ५० लाख ७६ हजार आठ सय रुपिया लागतमा २०७७ साल भदौ १० गते सम्झौता गरी पुल निर्माण सुरु गरेको थियो । सुरुमा उक्त पुलको निर्माण सम्पन्न गर्नु पर्ने अवधि २०८० साल जेठ ९ गते रहेको थियो ।
तोकिएको समयभित्र पुल निर्माण सम्पन्न नभएपछि दोस्रो पटक म्याद थप गरी २०८३ साल जेठ मसान्तसम्म निर्माण अवधि रहेको उहाँले जानकारी दिनुभयो । पुल निर्माणको हालसम्मको भौतिक प्रगती ८३ प्रतिशत र वित्तीय प्रगती ८० प्रतिशत रहेको पनि उहाँले सुनाउनुभयो । ‘‘पुलको एप्रोच रोड बनाउन स्थानीयले दिएनन् भनेर कन्ट्याक्टर(व्यवसायि) आउनु भएको थियो,’’ उहाँले भन्नुभयो, ‘‘पुलको काम लगभग सकिएको छ, एप्रोच रोडको काम बाँकी छ ।’’
‘‘बाटो(एप्रोच रोड)को लागि साढे सात मिटर चौडाइको जग्गा चाहिन्छ, त्यसका लागि स्थानीयले नछोडेपछि समस्या भएको छ,’’ उहाँले भन्नुभयो । एप्रोच रोड बनाउन स्थानीयले दिएको भए गत वर्ष नै पुल निर्माणको काम सकिने उहाँको भनाइ छ ।
निर्माण व्यवसायि रमेश कुँवरले सुरुमा पुलको नक्सा डिजाईन नमिल्नाले काम गर्न ढिलाइ भएको र अहिले पुलको दुई तिर मुखमा सडक निर्माण(एप्रोच रोड) बनाउन जग्गाा विवादले ढिला सुस्ती भएको गुनासो गर्नुहुन्छ ।