• २५ मङ्सिर २०८२, बिहिबार

रामपुर नगरले सञ्चालनमा ल्यायो ज्येष्ठ नागरिक स्कुल

blog

ज्येष्ठ नागरिक स्कुलको शुभारम्भ गर्नुहुँदै रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापा । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर २५ गते ।
पाल्पाको रामपुर नगरपालिकाले पाकापुस्ताका लागि ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । वडा नं. ५ स्थित रामघाट धाममा ज्येष्ठ नागरिकहरुलाई सम्मानसहितको सक्रिय जीवन जिउन तथा उहाँहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका स्कुल सञ्चालनमा ल्याएको हो ।

स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरी नगरपालिकाले बुधबारदेखि स्कुल शुभारम्भ गरेको हो । रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले ज्येष्ठ नागरिकहरुको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उहाँहरुलाई सम्मान सहितको सक्रिय जीवन जिउने वातावरण निर्माण गर्न स्कुल सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “सन्तानहरु रोजगारी तथा विभिन्न सिलशिलामा घरभन्दा बाहिर हुँदै गर्दा ज्येष्ठ नागरिकहरु निरस जीवन जिउनु पर्ने बाध्यता छ । आफ्ना दौतरीसँग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कुल स्थापना गरेका हौं ।” पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन बिताउने वातावरण स्कुलले प्रदान गर्नेछ ।

परम्परागत सीप हस्तान्तरणको केन्द्रका रूपमा समेत यसलाई विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । ज्येष्ठ नागरिकहरुलाई धार्मिक प्रवचनसँगै फुर्सदको समयमा बात्ती काट्ने, दुना टपरी बनाउने लगायतका वातावरण निर्माण गरी  बजारीकरणका लागि प्रबन्ध मिलाइएको थापाले बताउनुभयो ।

उपप्रमुख बालकुमारी थापाले ‘पुस्तान्तरण सिप, हस्तान्तरण केन्द्र’ भन्ने अवधारणका साथ स्कुलको  सुरुवात गरिएको बताउनुभयो । ज्येष्ठ नागरिक स्कुल भित्र नगर भित्रका विद्यार्थीलाई अध्ययनका लागि व्यवस्था समेत मिलाइएको छ । प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले नगरपालिकाले स्कुल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटको  समेत व्यवस्था गरेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई आउन र जानका लागि बस सेवा समेत सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका सल्लाहाकार सन्दीप रानाले देशमै पहिलो पटक रामपुर नगरपालिकाले नमूना अभ्यास गरेको बताउनुभयो । ज्येष्ठ नागरिक स्कुलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्त्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर–५ का वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले नयाँ पुस्तामा सिप पुस्तान्तरणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रामपुरको पहिचानमा थप टेवा पुग्ने बताउनुभयो । ज्येष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिकलाई उचित सम्मान प्राप्त नभइरहेको सन्दर्भमा पाठशाला स्थापनाले ज्येष्ठ नागरिकको दैनिकी सहज बनाउन महत्त्वपूर्ण टेवा दिएको बताउनुभयो । स्कुल सञ्चालनमा सबैको साथ र सहयोग महत्त्वपूर्ण रहने बताउनुभयो ।  

ज्येष्ठ नागरिक स्कुलका लागि आवश्यक भौतिक संरचना निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकार एक करोड २६ लाखभन्दा बढी खर्च भएको स्कुल व्यवस्थापन समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिनुभयो । साथै विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले पनि सहयोग गर्दै आएको बताउनुभयो । ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवास, ज्येष्ठ नागरिक केन्द्र र आचार्य निवाससहित तीन वटा भवनसँगै प्रतिक्षालय निर्माण गरिएको छ । शारीरिक व्यायम तथा थेरापीका लागि आधुनिक उपकरण जडान गर्नुका साथै नयाँ पुस्तालाई परम्परागत सामग्रीको बारेमा जानकारी दिन ढिँकी, जाँतो समेत निर्माण गरिएको छ ।

ज्येष्ठ नागरिक स्कुल जानका लागि तीन सयभन्दा बढी ज्येष्ठ नागरिकहरुले नाम दर्ता गरिसक्नु भएको ज्येष्ठ नागरिक संघ रामपुरका अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो । स्कुल भित्र ज्येष्ठ नागरिकहरुलाई प्रवचन सुन्ने, भजन कृतन गर्ने, स्वास्थ्य परीक्षण गर्ने व्यवस्थासहित दिवा खाजाको समेत व्यवस्था गरिएको छ । साथै साँझमा सन्ध्या आरती समेत हुनेछ । ज्येष्ठ नागरिकहरुलाई आउन र जानका लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ ।