• २५ मङ्सिर २०८२, बिहिबार

गलकोट नगर अस्पतालमा ‘डिजिटल हेल्थ कार्ड’ सुरु

blog

गलकोट नगरप्रमुख भरत शर्मा गैरेलाई ‘डिजिटल हेल्थ कार्ड’ हस्तान्तरण गर्नुहुँदै विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर २५ गते ।
गलकोट नगर अस्पतालले अनलाइन टिकेटिङसहितको ‘डिजिटल हेल्थ कार्ड’ सुरु गरेको छ । ‘डिजिटल हेल्थ कार्ड’को प्रारम्भसँगै आगामी दिनमा उपचारका सबै कागजात बोकेर अस्पताल धाउनुपर्ने झन्झट अन्त्य हुने विश्वास गरिएको छ ।

‘डिजिटल हेल्थ कार्ड’ सुरु भएसँगै प्रयोगशाला रिपोर्ट, प्रेस्क्रिप्सन, उपचारका आवश्यक सबै स्वास्थ्य विवरणहरू सुरक्षित रूपमा अस्पतालको डाटा सेन्टरमा भण्डारण हुनेछ । जसलाई सम्बन्धित विभागका स्वास्थ्यकर्मीहरूले कम्प्युटरमार्फत सहजै हेर्न सक्नेछन् ।

बुधबार विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. दिपेन्द्र गौतम र इन्जिनियर विरोध कट्टेलले अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकिय अधिकृत डम्मरबहादुर जिसी र डा. राजेश पौडेललाई ‘डिजिटल हेल्थ कार्ड’ हस्तान्तरण गर्नुभएको थियो ।

इन्टरनेटको पहुँचसँगै डिजिटल सिस्टममा अगाडि बढ्दा उपचारमा आउने नागरिकलाई हुने फाईदा र सेवा सुविधालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा ‘डिजिटल हेल्थ कार्ड’ सेवा सुरु गरिएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिनुभयो । ‘‘डिजिटल डाटाले सेवाप्रवाह छिटो र प्रभावकारी हुनेछ’’ पौडेलले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा अनलाइन टिकेटिङ, रेफरल लगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू डिजिटल प्रणालीमार्फत गर्ने योजना र नागरिकलाई थप सहजताको निम्ति सेवा सुरु गरिएको गलकोट नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख शर्मा गैरेले बताउनुभयो ।

‘‘स्मार्ट स्वास्थ्य सेवा, प्रभावकारी सेवा प्रवाह र प्रविधिमैत्री सुशासनको लक्ष्यसहित अघि बढेको यो प्रयास नगरबासीका लागि उपयोगी र रुपान्तरकारी बन्ने छ’’ गैरेले भन्नुभयो, ‘‘प्रविधि अनुकूल, सरल र सुरक्षित सेवा प्रवाह गर्दै नागरिकमैत्री स्वास्थ्य सेवा सुशासनमा अघि बढ्ने नगरको यो महत्त्वपूर्ण पहल हो ।’’