सन्तोष दहित
दाङ, मङ्सिर २५ गते । दाङमा एक वर्षको अवधिमा १५६ वटा मानव अधिकारसम्बन्धी घटनाहरू भएका छन् । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा इन्सेक दाङका प्रतिनिधि जेएन सागरले प्रस्तुत गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको हो ।
उहाँका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ का लागि संकलित दाङको अभिलेखमा १५६ घटनामध्ये गैर–राज्य पक्षबाट १४९, राज्य पक्षबाट ५ र अज्ञात पक्षबाट २ घटना रहेका छन् ।
यीमध्ये सबैभन्दा धेरै बलात्कारका ४९ वटा घटना भएका छन् । त्यस्तै घरेलु हिंसा ४४, बलात्कार प्रयास ४, यौन दुर्व्यवहार ११, हत्या ११, हत्याको प्रयास ८ घटना दर्ता भएका छन् । साथै आत्महत्या दुरुत्साहन १, भ्रुण हत्या ३, मानव बेचबिखन १, अपहरण १, कुटपिट ६, बालविवाह २, अमानवीय व्यवहार २, दुर्व्यवहार ९, तालाबन्दी १, खाद्य अधिकार उल्लङ्घन १, कारागारमा मृत्यु १ तथा आगजनी ६ घटना उल्लेख गरिएको छ ।
यसबाहेक, दाङमा जेनजी आन्दोलनका क्रममा जिल्लाका ५० भन्दा बढी सरकारी कार्यालयमा आगजनी तथा तोडफोड हुँदा एक अर्ब १४ करोड रुपियाँभन्दा बढी सरकारी सम्पत्तिको क्षति भएको जिल्ला क्षति मूल्याङ्कन समितिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको सागरले बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसीले अधिकारसँगै कर्तव्य पनि बराबर महत्त्वपूर्ण हुने बताउनुभयो । आफ्नो अधिकार माग्दा अरूको अधिकार हनन हुन नहुनेमा उहाँले जोड दिनुभयो । कार्यक्रममो प्रमुख अतिथिको समेत रहनुभएका उपप्रमुख डिसीले मानव अधिकारका विषयमा सबै गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।
मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशव शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी पूर्व केन्द्रीय सचिव लक्ष्मी आचार्य, उपभोक्ता हित संरक्षण केन्द्रका चिन्तामणि पौडेल, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य सुसिला पौडेल, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, अधिवक्ता गोमा महरा, बिनु श्रेष्ठ, नवराज श्रेष्ठलगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।