• २५ मङ्सिर २०८२, बिहिबार

सिग्रे दोभान पुल छिटो सम्पन्न गर्न निर्देशन

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ मकवानपुर र काभ्रे जिल्लामा निर्माणाधीन योजनाको स्थलगत निरीक्षण गर्नुहुँदै । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

मकवानपुर, मङ्सिर २५ गते  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रे दोभानको पक्की पुलको निर्माण आगामी वैशाखभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मकवानपुरको बागमती गाउँपालिका र काभ्रे जिल्लाको खानीखोला क्षेत्रमा निर्माणाधीन विकास आयोजनाको स्थलगत निरीक्षणका क्रममा बर्सौंदेखि अलपत्र अवस्थामा रहेको सिग्रे दोभान पुलको निर्माण यही वर्ष सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो  । बागमती–खानीखोला जोड्ने पक्की पुलको प्रगति बुझ्दै निर्माण क्षेत्रबाटै टेलिफोनमार्फत आगामी वैशाखभित्र जनमुक्ति मार्ग अन्तर्गतको उक्त पुल निर्माण सम्पन्न गर्न प्रदेश सरकारले निर्माण कम्पनीका प्रतिनिधिलाई आवश्यक सबै प्रकारका सहयोग गर्ने बताउनुभयो । 

मुख्यमन्त्री बानियाँले सो अवसरमा आयोजनाको स्थलगत अवलोकन गर्न पुगेका प्रदेश सरकारमातहतका पूर्वाधार कार्यालयका प्रमुखहरूलाई पुल आगामी वैशाखसम्ममा सम्पन्न गर्ने गरी अगाडि बढाउन प्राविधिकलगायत योजनास्थलमा आवश्यक सहयोग र सहजीकरणका लागि निर्देशन दिनुभएको थियो ।

मुख्यमन्त्री बानियाँले झुरझुरे–ज्यामिरे जोड्ने पक्की पुलको प्रगतिबारे जानकारी लिँदै सार्वजनिक निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति चासो र तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । विकास आयोजनाको निरीक्षणका क्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङलगायतको उपस्थिति थियो ।