• २५ मङ्सिर २०८२, बिहिबार

दाङमा ट्रमा सेन्टरको निर्माण अन्तिम चरणमा

blog

दाङको लमहीस्थित निर्माणाधीन ट्रमा सेन्टर । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, मङ्सिर २५ गते ।
दाङको लमहीमा निर्माण भइरहेको ट्रमा सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्ग छेउमै बन्न लागेको उक्त सेन्टर राप्ती उपत्यका तथा दाङ–देउखुरी क्षेत्रमा हुने सडक दुर्घटनाका घाइतेको उपचार सहज बनाउने उद्देश्यसहित निर्माण गर्न थालिएको हो ।

सेन्टरको निर्माण काम ८० प्रतिशत सम्पन्न भएको निर्माण ठेकेदार संस्था लामा एन्ड गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालिका इन्जिनियर अरुणकुमार शाहले जानकारी दिनुभयो । भ्याटसहित २३ करोड रुपियाँमा निर्माणका लागि सम्झौता भएको यो परियोजना लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अघि बढाइएको छ । २०७७ फागुन २८ गते ठेक्का सम्झौता भएको यस परियोजना २०८० असार २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर निर्माणक्रममा विविधकारणले ढिलाइ भएपछि २०८२ असार २३ सम्म म्याद थप गरिएको उहाँले बताउनुभयो ।

एक विघा दुई कठ्ठा क्षेत्रमा फैलिएको ५० शय्या ट्रमा सेन्टरको सुविधासम्पन्न भवन बन्दै छ । सेन्टरको मुख्य भवनसँगै स्टाफ क्वार्टर, डक्टर क्वार्टर र क्यान्टिनसहित चारवटा भवन, ट्वालेट निर्माणाधीन छन् । अहिले यी सबै भवनमा फिनिसिङ, रङरोगन, झ्याल–ढोका जडानलगायतका काम भइरहेको छ । “पैसा रोकिइएन भने यही चालु आर्थिक वर्षको असारभित्रै सबै निर्माण सक्नेछौँ,” शाहले भन्नुभयो ।

यस्तै, सहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद देवकोटाले पनि चालु आर्थिक वर्षभित्रै निर्माण सक्किएर लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताउनुभयो । “निर्माणको म्याद चैतसम्म भए पनि त्यसअवधिमा सकिने अवस्था छैन, त्यसैले केही समय थपेर आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ,” देवकोटाले भनुभयो ।

यसअघि २०७७ फागुन २४ गते ठेक्का सम्झौता भए पनि विभिन्न कारणले २०७८ वैशाख १ गते मात्र निर्माण सुरु भएको थियो । निर्माणस्थलमा रहेका रुख काट्न ढिलाइ हुँदा काम थालनीमा समय लागेको देवकोटाले बताउनुभयो । रुख कटानपछि भने निर्माणले गति लिएको उहाँको भनाइ छ । यो ट्रमा सेन्टर सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्ग तथा राप्ती उपत्यकासहित दाङ–देउखुरी क्षेत्रमा आकस्मिक उपचार सेवा अझ सहज हुने अपेक्षा गरिएको छ ।