• २५ मङ्सिर २०८२, बिहिबार

‘विधिको शासनका लागि मानव अधिकारको रक्षा जरुरी छ’

blog

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर २४ गते । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विधिको शासनलाई जीवन्त राख्न मानव अधिकारको रक्षा र संरक्षण जरुरी रहेको बताउनुभएको छ । 

नेपाल वार एशोसिएशनको आयोजनामा बुधबारदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको मानव अधिकारसम्बन्धि राष्ट्रिय गोष्ठी तथा ५१ औं केन्द्रिय कार्यकारिणी परिषद्को वैठकलाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले मानव अधिकार र न्याय एक अर्कासँग जोडिएको विषय भएकाले न्यायविनाको मानव अधिकारको कल्पनासम्म गर्न नसकिने बताउनुभयो । उहाँले वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकारको रक्षा गर्नु चुनौतीपूर्ण कार्य भएको भन्दै मानव अधिकारविना सुशासन तथा न्यायको कुरा गर्न नसकिने बताउनुभयो । 

उहाँले न्याय सम्पादनको क्रममा  निष्पक्षता कायम गरेर, स्वच्छता कायम गरेर, पारदर्शी भएर, अविच्लित अडानमा, अक्षुण चरित्र बोकेर जवाफदेहिताका साथ विवेकपूर्ण निर्णय दिन न्यायाधीश लाग्न सक्छ र न्यायालयको लाज राख्न सकिन्छ भन्ने मेरो बुझाइ हो भन्नुभयो । 

प्रधानन्यायाधीश राउतले न्यायपालिकाको शाख नै न्यायाधीश तथा कानुन व्यवसायी हुने भएकाले दुवै पक्षवाट शुद्ध आचरण र व्यवहारको प्रदर्शन जरुरी रहेको बताउनुभयो । 

प्रधान न्यायाधीश राउतले जेन्जी पुस्ताको आन्दोलनको क्रममा सर्वोच्च तथा देशभरका अन्य अदालतमा आगजनी हुँदा ९ लाख अभिलेखका मिसिलहरु जलेको बताउनुभयो । यसले न्याय क्षेत्रमा ठुलो अघात पुगेकोे उहाँको भनाइ छ । उहाँले मिसिल उठाउने कुरामा सबैको सहयोग प्राप्त भइरहेको भन्दै ३७ वटै वेञ्च सञ्चालन गर्ने प्रयत्नमा लागेको बताउनुभयो । 

उहाँले अदातलमा आगो लगाउनेलाई कानुनको दायरामा ल्याइ कारवाहीका लागि प्रहरी उच्च अधिकारीहरुसँग छलफल भएको बताउनुभयो । 

कार्यक्रममा महान्यायाधिवक्ता सविता बरालले मानव अधिकार सुनिश्चितता भएको खण्डमा मुलुकमा सुशासन स्थापित हुने र यसले न्याय निरुपणमा मद्दत पुग्ने बताउनुभयो । उहाँले मानव अधिकारका लागि सुशासन पहिलो सर्त भएको बताउनुभयो ।

नेपाल वार एशोसिएशनका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. विजयप्रसाद मिश्रको अध्यक्षतामा भएको उद्घाटनशत्रमा नेपाल वार एशोसिएशनका पूर्व अध्यक्ष एवं बरिष्ठ अधिवक्ता शम्भु थापाले परम्परागत मूल्य र मान्यताले मानव अधिकारको रक्षा गर्न कठिन हुने बताउनुभयो । 

नेपाल वार एशोसिएशन जनकपुर शाखाको आतिथ्यमा भएको कार्यकारीणी परिषद वैठकमा निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे सहितका वक्ताहरु आफनो धारणा राख्नुभएको थियो ।

दुई दिन सम्म चल्ने परिषद् वैठकमा ७७ जिल्लाका परिषद सदस्यहरु, जिल्ला अध्यक्ष तथा सचिवहरु गरेर करिव ९ सय कानुन व्यवसायीहरुको सहभागिता रहेको नेपाल बार एशोसिएसन जनकपुरधामका पूर्व अध्यक्ष बलराम सुवेदीले जानकारी दिनुभयो ।