काठमाडौँ, मङ्सिर २५ गते । नवपुस्ता (जेनजी) अभियन्ताले महिलाको सक्षमतामाथि सवाल उठ्नेगरेको बताएका छन् । त्यसो त, बददो परिस्थितिसँगै हिंसाको स्वरुप पनि बदलिँदै गएको उनीहरुको भनाइ छ । एकातर्फ, शारीरिक एवम् प्रत्यक्षरुपमा हुने हिंसा र अर्कोतर्फ अनलाइन वा डिजिटलमार्फत हिंसा बढ्दो अवस्थामा रहेको उहाँहरुको बुझाइ छ ।
प्रहरीको तथ्याङ्क के भन्छ
नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१-८२ मा महिला तथा बालिकाविरुद्ध भएको अपराधको सङ्ख्या २१ हजार ६६७ छ । जसमध्ये सबैभन्दा बढी घरेलु हिंसा १७ हजार ४८२ छ भने जबरजस्ती करणी दुई हजार २५३, बहुविवाह ५६८, जबरजस्ती करणी उद्योग ४५९, बाल यौनदुरुपयोग ३५५, बालविवाह ६१, मानव बेचबिखन तथा ओसारपसार १५१ लगायत विभिन्न प्रकारका हिंसा भएका छन् ।
जेनजी अभियन्ता सफलता तामाङ हिंसामा परेका महिला वा बालिकाको बारेमा सोचिदिन भन्दा पनि पीडित आफैंले न्यायका लागि लड्ने या नलड्ने भनेर दश पटक सोच्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । एक पटक पीडामा परेको महिलाको जीवनभर आघात पुर्याउने प्रवृत्ति समाजमा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “हिंसा पीडितले जाहेरी दिन जानुभन्दा अगाडि दश पटक अझै सोच्नुपर्छ । सामाजिक हिंसा होस् या बलात्कार, छोएर, बोलेर नै कुनै हिंसा भएको किन नहोस् त्यो महिलामै कमजोरी भएर यस्तो भएको होला भन्ने खालको दृष्टिकोण छ ।”
सक्षमतामा सवाल
तामाङ विद्यालयमा पढ्दा गाउँपालिकास्तरीय बाल क्लबको अध्यक्ष हुनुहुन्थ्यो । नेपाल ल क्याम्पसको विद्यार्थी सङ्गठन हुँदै उहाँ जेनजी आन्दोलनमा इण्डिजिनिअस् कलेक्टिभ् ग्रुपको कोर टिममा रहनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “ल क्याम्पसको समितिमा काम गर्दै गर्दा पनि ममाथि प्रश्न उठ्यो । म पुरुष भएको भए ती प्रश्नहरु उठ्दैनथे । फलानोले यस्तो गरिरहेको छ, कसको सपोर्ट होला भनेर सक्षमतामाथि प्रश्न उठाएको देखिन्छ । वमन लिडरसिप एड्रेस गर्न सकेको छैन यो पनि हिंसा हो ।”
उहाँले महिला तथा बालिकामाथि हुने हिंसालाई नेपालको कानुन बमोजिम सजायको व्यवस्था भए पनि दण्डहीनताको समस्या देखिएको बताउनुभयो ।
आर्थिक वर्ष २०८०-८१ मा महिला तथा बालिकामाथि भएका जम्मा अपराधको सङ्ख्या २१ हजार चार छ । सो वर्ष घरेलु हिंसा १६ हजार ४१६, जबरजस्ती करणी दुई हजार ५०७, बहुविवाह ६५३, बालयौनदुरुपयोग ३६३, मानव बेचबिखन तथा ओसारपसार १६६ लगायतका छन् ।
यसैगरी, आर्थिक वर्ष २०७९-८० मा महिला तथा बालिकामाथि भएका कुल अपराध सङ्ख्या २० हजार ९१३, आर्थिक वर्ष २०७८-७९ मा २१ हजार ४५१ र आर्थिक वर्ष २०७७-७८ मा १८ हजार ९६१ रहेको प्रहरीको तथ्याङ्क छ । गएको पाँच वर्षको तथ्याङ्क अनुसार पछिल्लो वर्ष पनि महिला तथा बालिकामाथि हुने अपराधको सङ्ख्या घट्न सकेको छैन । त्यसमा पनि घरेलु हिंसा, जबरजस्ती करणी, बहुविवाह, बालयौन दुरुपयोग, मानव बेचबिखन तथा ओसारपसार, बालविवाह लगायतका अपराध सङ्ख्या बढी छ ।
जेनजी अभियन्ता पेमा वाङमो मुगुम भन्नुहुन्छ, “महिलाले प्रत्यक्षरुपमा भोग्ने शारीरिक हिंसा छँदैछ, अहिले संरचनागत एवम् नदेखिने हिंसा छ । विशेषगरी, हाम्रो जुन पितृसत्तात्मक संरचना छ, यो अहिले पनि तोड्न सकिएको छैन । यो संरचनाले जति जरा गाडेको छ त्यो तोड्न पुरुष, महिला र सिङ्गो समाजलाई नै ठुलो तहको सचेतना आवश्यक छ ।”
जेनजी अभियानमा लाग्दैगर्दा पनि महिला नेतृत्वमाथि प्रश्न उठ्ने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “अनलाइनमा महिला जेनजी लिडर र पुरुष जेनजी लिडरले पाउने कमेन्टमा फरक हुन्छ । म आफैं जेनजी मुभमेन्टमा लाग्दै गर्दा महिला र पुरुषले पाउने धम्की हेर्नुभयो भने एकदमै फरक रुप देख्न सक्नुहुन्छ । हामीले बोल्दा हाम्रो हरेक कुरामा प्रश्न उठाइन्छ । सक्षमतामाथि सवाल हुन्छ ।” आफ्नो भनाइ राख्न वादविवादमै उत्रनुपर्ने, उत्पीडनमै पर्नुपर्ने अवस्था अझै रहेको उहाँको गुनासो छ ।
आधुनिक युगमा महिला घरबाट निस्किएका त छन् तर विभिन्न निर्णय र नेतृत्व गर्ने ठाउँमा पुगेका महिला कम रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो आमाहरुले भोग्नुभएको भन्दा हाम्रो पुस्तालाई धेरै कुराले सहज छ । तर, अहिलेका महिलाले हिंसा भोग्दैन भनेर भन्ने समुदाय धेरैजसो सहरी भेगका हुन्छन् । काठमाडौँलाई मात्र बेस बनाएर कुरा गर्याे भने यसले उचित न्याय दिन सक्दैन । म आफैँ पनि कामको सिलसिलामा धेरै ग्रामीण क्षेत्र, स्थानीय समुदायमा पुगेको छु, त्यहाँका कतिपय महिला अझै आफ्नो नामसम्म भन्न सक्दैनन् ।”
यसको अर्थ महिला माथि उठ्नै सक्दैनन् भन्ने नभएर महिलालाई कस्तो घेरामा बाँधेर राखिएको रहेछ भन्ने किसिमबाट बुझ्नुपर्ने उहाँको भनाइ छ । पछिल्लो समय भएको जेनजी आन्दोलन, अन्तरिम सरकार एवम् सहमतिको वातावरण निर्माणसम्मको अवस्थामा महिला र विभिन्न लैङ्गिक पहिचान भएका जेनजीको योगदान ओझेलमा परेको अभियन्ता बताउँछन् ।
ओझेलमा महिला नेतृत्व
जेनजी अभियन्ता मोनिका निरौलाले जेनजीको सामूहिक ऐक्यबद्धतादेखि राजनीतिक दलसँग सहमतिको वातावरण निर्माणमा महिला र फरक लैङ्गिक पहिचान भएकाको भूमिका नेतृत्व तहमा भए पनि यो कुरा बाहिर आउन नसकेको बताउनुभयो । उहाँ जेनजी मुभमेन्ट एलायन्समा सक्रिय हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “अन्तरिम सरकार र आन्दोलनकारी पक्षबिच जुन प्रस्तावित सम्झौतामा छौं । यसको ड्राफ्टिङदेखि यो सम्झौताको पहलमा महिला लगायत विविध लैङ्गिक पहिचान भएका व्यक्ति नेतृत्व भूमिकामै छौं । तर यसको मिडिया कभरेज, भिजिलिबिटी एकदमै कम छ ।”
उहाँले समानुपातिक समावेशिताको अवधारणा प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको भन्नुहुँदै राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालका सबै सरकार र संरचनामा परिपूरणीय सहभागिता आवश्यक छ भन्ने कुरा हामीले स्थापित गर्न खोजेका छौं । हाम्रो निरन्तरको लडाइँ र वकालतबाट केही न केही स्थान आफ्नो लागि बनाउन सकेका छौं । हाम्रो निरन्तर एक किसिमको लडाइँ, एड्भोकेसीका कारण हामीले केही न केही स्थान आफ्नो लागि बनाउन सकेका छौं । सामाजिक रुपान्तरण नै आवश्यक छ ।”