• २३ मङ्सिर २०८२, मङ्गलबार

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

blog

नेपाल पूर्वाधार पत्रकार समाजले मङ्गलबार ललितपुरमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवाला निकायसँग संवाद’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङ ।

पाटन (ललितपुर), मङ्सिर २३  गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताउनुभएको छ ।

नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गर्नुभयो ।

“ठेक्का अनुसार काम नहुँदा विकास निर्माणमा समस्या भएको छ, नेपालको कानुनले कुनै पनि काम ठेक्का बिना गर्न दिँदैन, ठेक्का व्यवस्थापन नहुँदा रोजगारी, अर्थतन्त्रमा समेत असर पर्छ,” उहाँले भन्नुभयो ।

उहाँले ठेक्का सम्पन्न भएपछि समयमा भुक्तानी नगर्ने र निर्णय नगर्नेलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री घिसिङले नेपालमा लगानी सम्मेलनभन्दा पनि ठेकेदारहरूको सम्मेलन गर्नुपर्ने अवस्था रहेको धारणा राख्नुभयो । 

संवादको सुरुआतमै पूर्वाधारविज्ञ एवम् पूर्वसचिव अर्जुनजङ्ग थापाले ठेक्का तोड्ने सरकारी नीति र त्यसको प्रभावका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । रासस