काठमाडौँ, मङ्सिर २३ गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रालिबिच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याब प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सोमबार सम्झौता भएको बैंकले जनाएको छ ।
सो सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्याबको विविध सेवाका लागि निःशुल्क होम डेलिभरीको सुविधासहित र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रालिका तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन् ।