• २३ मङ्सिर २०८२, मङ्गलबार

रिलामा भाइरल ज्वरोका बिरामी बढ्दै

blog

भाइरल ज्वारेको कारण कक्षा कोठा खाली हुँदै गएको पाथरकोट आधारभूत विद्यालय –४ रिला । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, मङ्सिर २३ गते  ।
बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछिल्लो समय यहाँ चिसो बढ्दै गएपछि रिलामा पनि भाइर ज्वारेको बिरामीहरु पनि बढ्दै गएका हुन् ।

घर घरमा भाइरल ज्वरो फैलिँदै गएपछि अहिले पाथरकोट आधाभूत विद्यालयमा पनि विद्यार्थीहरु कम आउने गरेको बताइएको छ ।

विगत दुई चार दिनदेखि आफुलाई रुघा खोकी लाग्ने टाउँको दुख्ने ज्वरो आउने उल्टी हुने गरेको पाथर कोट आधारभूत विद्यालयका कक्षा ५ का छात्रा आरती कुमारी परीले बताउनुभयो ।

उहाँले भन्नभुयो, “बिरामी भएपनि आफु जबरजस्ती विद्यालयमा आउँछु । कक्षा कोठामा बसेर पढ्न लाग्छु । त्यति खेर खोकी लाग्छ । उल्टी हुने र टाउँको पनि  दुख्ने गर्छ । त्यसैले विद्यालय आएर कक्षा कोठामा बसेर पढ्न निकै समस्या भएको छ ।”

घरमा तातो पानी र औषधी खाने गरेकाले अलि केही आराम भएको छ । पढाइ छुट्ने डरले यहाँ आउँछु । यता चिसो हुने गरेकोले झन बिरामी हुने गरेको परीले बताउनुभयो ।

विगत एक महिनादेखि गाउँमा धेरै बिरामी परेका छन् । त्यसले यहाँ पढ्न आउने गरेका बालबालिकाहरु पनि विद्यालयमा नआउने गरेको पाथरकोट आधारभूत विद्यालयका शिक्षक कमल नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ पढ्न आउने गरेका बालबालिकाहरु पनि प्राय बिरामी भएर आउने गरेका छन् । उनीहरुमा पनि खोकी ज्वरो वाकवाकी लाग्ने जस्ता लक्षण देखा परेका छन् ।”

यहाँ ९३ जना विद्यार्थीहरु अध्ययनरत थिए । अहिले गाउँमा भाइर ज्वरो आउने गरेकोले अधिकांश कक्षा कोठा खाली हुने गरेको नाथले बताउनुभयो ।

हिउँद लागेसँगै अहिले गाउँमा रुघाखोकीका बिरामी पनि बढ्दै गएका छन् । यहाँ दैनिक पाँचदेखि सात जनाभन्दा बढी बिरामी आउने गरेका छन् । उनीहरु भाइरल ज्वरोका बिरामी हुन् । हामीले यतादेखि उनीहरुलाई औषधी दिने गरेकाले अहिले केही आराम हुँदै गएको रिला सहरी स्वास्थ्य केन्द्रका प्रमुख मीनबहादुर थापाले बताउनुभयो । 

लेखक बाट थप