• २३ मङ्सिर २०८२, मङ्गलबार

“शी लिड्स आइकन”की प्रथम विजेता लम्कीचुहाकी नगरप्रमुख सुशीला शाही

blog

“शी लिड्स आइकन”को सर्वोत्कृष्ट उपाधि ग्रहण गर्दै नगरप्रमुख सुशीला शाही । तस्बिर : नगरप्रमुखको सचिवालय

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), मङ्सिर २३ गते ।
महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधि छनोट कार्यक्रम “शी लिड आइकन”को लम्कीचुहा नगरपालिका कैलालीकी नगरप्रमुख सुशीला शाही प्रथम विजेता बन्नुभएको छ ।

कल्प इम्पावर वेमेन नेपालको आयोजनामा भएको “शी लिड्स आइकन” दोस्रो संस्करणमा विभिन्न छनोट चरण पार गर्दै शाही प्रथम विजेता बन्नुभएको हो । नगरप्रमुख शाहीले आफू विजयी हुनुमा शुभचिन्तक, मित्रहरूकाे महत्त्वपूर्ण हात रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो सफलता केवल मेरो मात्र नभई, हाम्रा सामूहिक प्रयास, एकता र सकारात्मक सहयोगको प्रतिफल हो ।”

शुभचिन्तकबाट प्राप्त मत, शुभेच्छा, उत्साहले सफलतासम्म पुग्न प्रेरणा मिलेको नगरप्रमुख शाहीले बताउनुभयो ।

“शी लिड्स आइकन” कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजनाअन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिमध्येबाट ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान रहेको वेमेन नेपालका अध्यक्ष पूजा कोइरालाले बताउनुभयो ।

आयोजकका अनुसार यस संस्करणमा कुल १३१ वटा आवेदन प्राप्त भएकाे थियो, त्यसमध्ये प्रकिया पूरा भएका १११ आवेदन थिए, प्राप्त १११ आवेदनमध्ये कोशी प्रदेशबाट २० (प्रमुख/अध्यक्ष २, उपप्रमुख/उपाध्यक्ष १८), मधेश प्रदेशबाट १२ (प्रमुख/अध्यक्ष ३, उपप्रमुख/उपाध्यक्ष ९), बागमती प्रदेशबाट १७ (प्रमुख/अध्यक्ष २, उपप्रमुख/उपाध्यक्ष १५), गण्डकी प्रदेशबाट १६ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष १५), लुम्बिनी प्रदेशबाट १६ (उपप्रमुख/उपाध्यक्ष १६), कर्णाली प्रदेशबाट १२ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष ११) र सुदूरपश्चिम प्रदेशबाट १६ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष १५) आवेदन छन्, यसमध्ये प्रमुख/अध्यक्षको कुल सङ्ख्या १० र उपप्रमुख/उपाध्यक्षको कुल सङ्ख्या १०१  थियो ।

१११ जना महिला जनप्रतिनिधिको आवेदनबाट वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ चारु चडड़ा र लैङ्गिकता र समानता विशेषज्ञ सरु जोशीसहितको निर्णायक मण्डलले छनोट गर्नुभएको थियो ।

जसमा कोशी प्रदेशबाट चार, मधेश प्रदेशबाट पाँच, बागमती प्रदेशबाट पाँच, गण्डकी प्रदेशबाट चार ,लुम्बिनी प्रदेशबाट चार, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिमबाट पाँच जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोट गरिएको थियो । उक्त छनोट भएकामा ७ जना प्रमुख  र २४ जना उपप्रमुख थिए ।

३१ जना मध्येबाट ७ जनालाई आइकन घोषणा गरिएको हो । आइकन छनोट जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता माध्यमबाट भएको थियो । जसमा सबैभन्दा बढी मत प्राप्त गरी नगरप्रमुख शाही विजयी हुनुभएको जनाइएको छ । 

लेखक बाट थप