• २३ मङ्सिर २०८२, मङ्गलबार

धराशायी बन्यो सरकारी विद्यालय

blog

बोमलाल गिरी

नवलपुर, मङ्सिर २३ गते । नवलपुर सदरमुकाम कावासोती–११, लौगाईस्थित श्री नारायणी प्राथमिक विद्यालय निकै नाजुक अवस्थामा पुगेको छ । विसं २०५३ सालमा स्थानीय बोटे, माझी, मुसहरलगायत विपन्न परिवारका बालबालिकालक्षित विद्यालय हाल खारेज नै हुने अवस्थामा पुगेको छ । 

विद्यालयमा हरेक वर्ष विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थामा विद्यालयका प्रधानाध्यापकले समेत राजीनामा दिएर राजनीतिमा लागेपछि विद्यालय नै खारेज हुने अवस्थामा पुगेको हो । विगतमा १४५ जनासम्म विद्यार्थी रहेको विद्यालयमा अहिले नौ जना मात्र अध्ययनरत छन् । अझ कहिलेकाहीँ त तीन/चार जना मात्र आउने गरेको विद्यालयले जनाएको छ । स्थापनाकालदेखि सोही विद्यालयमा अध्यापन गरिरहनुभएकी लक्ष्मी भुसालले भन्नुभयो, “उतिबेला नजिकमा अरू विद्यालय थिएनन् । 

विपन्न तथा असहाय बालबालिकाका लागि भनेर सुरुमा प्रतिघर १० रुपियाँ चन्दा उठाएर विद्यालय खोलिएको थियो । पछि एउटा गैरसरकारी संस्थाले दुईतले भवन पनि बनाइदियो । अहिले लथालिङ्ग अवस्थामा पुगेको छ ।” विद्यालयमा अहिले तीन जना शिक्षक छन् । राजीनामा दिएका प्रधानाध्यापक दधिराम परियारको राजीनामा स्वीकृत नहुँदा नयाँ शिक्षक नियुक्ति गर्न पनि  समस्या भएको वडा नम्बर ११ का अध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानाध्यापक परियारले राजीनामा दिनुभयो । त्यसलाई स्वीकृत गरेर हामीले नगर शिक्षा कार्यालयमा पठायौँ तर उहाँले सक्कली राजीनामा गोजीमा हालेर फोटोकपी मात्र दिएकाले हामीले त्यही समावेश गरेर कार्यालयमा पठाए पनि नगर शिक्षा कार्यालयले स्वीकृत गरेन ।” 

नगर शिक्षा कार्यालयले भने सक्कली राजीनामा नआउँदासम्म स्वीकृत गर्न गाह्रो हुने बताएको छ । नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले पटक पटक फोन गरेर प्रअ परियारलाई सक्कली राजीनामासहित कार्यालयमा आउन आग्रह गर्दा पनि नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन समितिले राजीनामाको फोटोकपी राखी निर्णय गरेर पत्र पठाएको छ तर स्वीकृत गर्नका लागि सक्कली राजीनामा चाहिन्छ । हामीले पनि सम्पर्क गरेर उपस्थित हुन आग्रह गरिरहेका छौँ । तीन दिनमा आउँछु भनेको पनि धेरै दिन बितिसक्यो । उहाँ अझै आउनुभएको छैन ।”

पौडेलले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर पठाएको बताए पनि यो समिति निष्क्रिय भएको तीन वर्ष भइसकेको शिक्षिका भुसालको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन समिति तीन वर्षदेखि निष्क्रिय छ । समितिका अध्यक्ष, सदस्य बन्नेले नै आफ्ना बच्चा यहाँ पढाउँदैनन् । कि त बोर्डिङमा पठाउँछन् कि अरू नै विद्यालयमा लैजान्छन् ।” भुसालले भन्नुभयो ।    

लेखक बाट थप