• २३ मङ्सिर २०८२, मङ्गलबार

भूमिहीनले बल्ल पाए लालपुर्जा

blog

नवलपरासी समाचारदाता

कावासोती, मङ्सिर २३ गते ।  बर्सौंदेखि जोतभोग गर्दै आए पनि जग्गाको धनीपुर्जा नभएका पूर्वीनवलपरासीको देवचुली, मध्यविन्दु, नगरपालिका र हुप्सेकोट गाउँपालिकाका भूमिहीनले बल्ल लालपुर्जा पाउन सफल भएका छन् ।   

जिल्लाका विभिन्न पालिकाको समन्वयमा करिब पाँच दशकपछि उनीहरूलाई लालपुर्जा वितरण गरिएको हो । लालपुर्जा पाएपछि हर्षित बनेका उनीहरू जमिनको मालिक भएको र व्यापार व्यवसाय तथा छोराछोरीको शिक्षाका लागि लालपुर्जा बैङ्कमा धितो राखेर सहयोग पुग्नेमा विश्वस्त देखिएका देवचुली नगरपालिकाका प्रमुख हरि न्यौपानेले बताउनुभयो । 

देवचुली नगरपालिका–४ को सामुदायिक वन क्षेत्रका १३८ परिवारले एकै पटक लालपुर्जा पाएपछि ढुक्क बनेका हुन् । आफूले जोतभोग गर्दै आएको जमिनमा भोगाधिकार भए पनि कुनै प्रमाण नभएका कारण पटक पटक पुर्जाका लागि आन्दोलनदेखि नेताका घर घरमा धाउँदै आएका थिए । विसं २०४८ मा आयोग बनेदेखि लालपुर्जा पाउने आशामा बसेका स्थानीयले ३४ वर्षपछि भने धनीपुर्जा पाउन सफल भएको देवचुली नगरपालिका–४ का समाजसेवी दीपेन्द्र थापा क्षेत्रीले बताउनुभयो । 

विसं २०३४ देखि झाँक्रेमा बस्दै आएका देवचुली–४ का ७१ वर्षीय चित्रबहादुर थापाले जीवनमा पहिलो पटक आफ्नो नाममा धनीपुर्जा आएपछि हर्षित भएको बताउनुभयो । सोही क्षेत्रमा बस्ने अधिकांश स्थानीयले जमिनको लालपुर्जा नपाउँदा उच्च शिक्षाका लागि बालबालिका विदेश पठाउन तथा व्यवसाय दर्ता गरी सञ्चालन गर्न पाएका थिएनन् । लालपुर्जा पाएपछि भने सहज हुने स्थानीय याममाया परियारको भनाइ छ । 

सुकुमवासी तथा दलितका हकमा १३८ परिवारबाहेक अव्यवस्थित बसोबासी अन्तर्गत वनक्षेत्रभित्रका गरी छ सय जनालाई पुर्जा प्रदान गर्न नसकेको देवचुली नगरपालिका–४ का भीमचन्द्र गुरुङले बताउनुभयो । अव्यवस्थित बसोबासीका हकमा २६० परिवारलाई पुर्जा प्रदान गर्ने तयारी भएको उहाँको भनाइ छ ।

मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा ५६५ परिवारले यसअघि नै लालपुर्जा पाइसकेका छन् । पछिल्लो चरणमा देवचुली नगरपालिकाका स्थानीयले लालपुर्जा पाएका हुन् । गैँडाकोट, कावासोती नगरपालिका, बुलिङटार, बौँदीकाली र विनयीत्रिवेणी गाउँपालिकामा निवेदन प्राप्त गरी छानबिन भइरहेको र चाँडै नै ती पालिकामा पनि लालपुर्जा वितरणको काम थालनी गरिने भएको छ ।