• २३ मङ्सिर २०८२, मङ्गलबार

रामसारकलीलाई तालिम दिइँदै

blog

रामसारकलीलाई तालिम दिइँदै ।तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की  

वराहक्षेत्र, मङ्सिर २३ गते  । हात्तीलाई माहुतेद्वारा प्रशिक्षण गराएपछि मानवीय प्रयोगमा ल्याइने गरिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा रहेका छावालाई माहुते (वाहकी) द्वारा मानवीय प्रयोगका लागि तालिम दिइएको छ । २०७९ साल भदौ ११ गते कोशीटप्पु वन्यजन्तु आरक्षमा सरस्वतीकलीबाट हात्तीसारमा जन्मेको रामसारकलीलाई वाहकीले तालिम गराउँदै आएका छन् । 

आरक्षमा गस्ती गर्न पालनपोषणमा राखिएका हात्तीबाट जन्मिएका छावालाई माहुतेको नियन्त्रणमा राख्न एक वर्षको उमेरदेखि सिकाउने गरेको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्षसम्म स्वतन्त्र रहेका गज र कलीलाई सामान्य रूपमा माहुतेको इसारा र निर्देशनमा हिँडाउन तालिम दिइन्छ । तीन वर्ष पुगेपछि औपचारिक रूपमा पूजा गरेर तालिम प्रदान गरिन्छ ।”  

रामसारकलीलाई तालिम गराउनुअघि खामेश्वरी पूजा गरिएको थियो । छावालाई तालिम गराउनुपूर्व खामेश्वरीको पूजा अनिवार्य मानिन्छ । तालिम सुरु गर्नुअगावै तयार पारिएको काठको खम्बा (खमारा) को टुप्पोमा डोरी अल्झाउने बनाइन्छ । डोरी अल्झने उचाइ र तालिमे हात्तीको घाँटीको उचाइ बराबरको बनाई खमारीको पूजा गरेर तालिम सुरु गरिन्छ । तालिम दिने माहुते (वाहकी) ले तालिम अवधिभरि शुद्ध बस्नुपर्ने माहुते रामचन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “हात्तीलाई तालिम दिउन्जेल माछा, मासु, जुठो नखाई, सहवास नगरी बस्नु पर्छ । तालिमभरि शुद्ध एकै रङको कपडा लगाएर तालिम गराउनु गर्छ । तालिमे हात्तीलाई बिहानबेलुकै खमारीमा बाँधेर पूजा गर्नु पर्छ ।” माहुते रामचन्द्रका अनुसार हात्तीलाई कम्तीमा एक महिनासम्म तालिम दिइन्छ ।  

कोशीटप्पु वन्यजन्तु आरक्षको कुशाहस्थित हात्तीसारमा मुकुना र सरस्वतीकलीको छावा रामसारकली तालिम गर्न योग्य भएपछि तालिम गराइँदै छ । रामसारकलीलाई तालिम गराउन माहुते, फणीत र पछुवाले पूजाआजा गरेर वयस्क हात्तीको सहयोगमा तालिम गराउँदै आएका छन् । जङ्गल डुलाएर ल्याएपछि खमारीमा बाँधेर पूजा गरिन्छ र तालिमे हात्तीको अगाडि र पछाडिको खुट्टा र घाटीमा पनि डोरीले बाँधिने रामचन्द्र बताउनुहुन्छ । उहाँका अनुसार घाँटीमा बाँधिने डोरीलाई अग्रन, अगाडिको खुट्टामा बाँधिने डोरीलाई छनुवा, पछाडिको खुट्टामा बाँधिने बन्डा र घाँटीमा बाँध्ने डोरीलाई अग्रम भनिन्छ । 

तालिमे हात्तीलाई तालिमको सुरुवाती एक हप्ता खम्बामै बाँधेर सिकाइन्छ र खाना त्यहीँ दिने गरेको माहुते रामचन्द्र बताउनुहुन्छ । तालिममा बहकियाले भनेको नमानेसम्म बस्न दिइँदैन र राति सुत्न पनि दिँदैन । जब उठबस गर्ने, भनेको मान्ने भएपछि अरू हात्तीसँगै आरक्ष जङ्गलमा सिकाउन लग्ने गरिएको छ ।