कविराज घिमिरे
हिले (धनकुटा), मङ्सिर २३ गते । ठेक्का लागेको छ वर्ष बित्दा पनि पाख्रीबास–मुगा–सुनबालुवा सडक पूरा हुन सकेको छैन । २०७६ असारमा ठेक्का लागेर यो सडकको निर्माण सुरु हुँदा निकै उत्साहित भएका स्थानीय छ वर्षसम्म पनि आयोजना अधुरै रहँदा धुलो तथा हिलोको कहर सहन बाध्य छन् । ४२ करोड ७७ हजार रुपियाँमा १९ किलोमिटर कालोपत्रे गर्ने गरी ललितपुरको ‘दिवा–महावीर जेभी’ ले ठेक्का पाएको थियो ।
सम्झौता अनुसार काम २०७८ माघमा सम्पन्न गर्नुपर्ने थियो तर विभिन्न कारण देखाउँदै काम अगाडि नबढेपछि २०७९ भदौ र त्यसपछि २०८० असारसम्मका लागि थप गरिएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।
२०८० असारमा तत्कालीन सरकारले स्रोत सुनिश्चित नै नभई परियोजना अगाडि बढेको भन्दै सडक पूर्वाधार विकास योजनाका काम रोकी फरफारक गर्न निर्देशन जारी गरेको कार्यालय प्रमुख ई. राजेन्द्रप्रसाद साह बताउनुहुन्छ । पहिले भुक्तानी भएको रकमबाहेक सडक डिभिजन कार्यालयले थप ८० लाख रुपियाँ मात्र भुक्तानीयोग्य रकम रहेको जनायो तर ठेकेदार कम्पनीले ८० लाखभन्दा धेरैको काम भएको भन्दै भुक्तानी मागसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो । अदालतले नेपाल काउन्सिल अफ आर्बिट्रेसनका विज्ञ टोलीमार्फत भुक्तानीयोग्य रकम यकिन गर्ने आदेश दिएको छ तर अहिलेसम्म सो अध्ययन सम्पन्न गर्न सकेको छैन । जसका कारण काम अगाडि बढ्न नसकेको कार्यालय प्रमुख साहको भनाइ छ ।
कार्यालयका अनुसार २०८० असारयता एक प्रतिशत पनि काम भएको छैन । यो वर्ष सो सडकका लागि तीन करोड रुपियाँ विनियोजन भएर आएको छ तर मुद्दा टुङ्गो नलागेपछि सडक निर्माणको काम अन्योलग्रस्त बनेको छ ।
चाँडो भन्दा चाँडो काम अगाडि बढाउन स्थानीयको माग छ । आफ्नो गाउँठाउँमा जिल्लाकै प्रभावशाली नेता भए पनि सडक निर्माण अघि बढाउन पहलै नगरिदिएको स्थानीय गजेन्द्रबहादुर राई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा जन्मिएको गाउँ यही हो । धनकुटाको राजनीतिमा अहिले पनि मुगा क्षेत्रकै वर्चस्व छ तर सडकका लागि कसैले पनि पहल गरिदिएनन् ।
अब यो सडक कहिले पूरा हुने हो अत्तोपत्तो छैन । आयोजनामा अहिलेसम्म ४५ प्रतिशत भौतिक प्रगति र ३८.५ प्रतिशत मात्र वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ तर कामले निरन्तरता नपाउँदा भएको प्रगति पनि शून्य झैँ छ । पहिले बनाइएको ट्र्याक, ड्रेन, ग्राभेल सबै बगिसकेको छ । सडक पहिलेभन्दा बिजोग लाग्दो अवस्थामा रहेको स्थानीय कर्ण बहादुर राई बताउनुहुन्छ । पाख्रीबास नगरपालिका–७, ८ र पालिकाले समेत पटक पटक पहल गरे पनि काम अघि बढ्न नसकेको पाख्रीबास नगरपालिका–८ का वडाध्यक्ष गजेन्द्रबहादुर राई बताउनुहुन्छ ।
सडकको ट्र्याक खोलिएको करिब ३० वर्षपछि ठेक्का लागेर निर्माण सुरु हुँदा निकै उत्साहित भएका स्थानीय अहिले निराश र आव्रmोशित भएका छन् । यो सडक निर्माण भएमा मुगालाई मात्र नभई दक्षिणी भोजपुर र पूर्वीखोटाङसम्मका स्थानीयलाई कोशी राजमार्गसम्मको सहज र छोटो हुने छ ।