• २५ मङ्सिर २०८२, बिहिबार

रोकिएन शिक्षकले राजीनामा दिने क्रम

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), मङ्सिर २३ गते । गुल्मीमा पछिल्ला केही वर्षयता शिक्षकले पेसा छोड्ने क्रम निरन्तर बढ्दै गएको छ । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका अनुसार चालु आर्थिक वर्षको चार महिनामै आठ जनाले राजीनामा दिएका छन् । आव २०७९/८० देखि हालसम्म कुल १३२ जना शिक्षकले पद त्याग गरेका छन् ।

एकाइका प्रमुख थानेश्वर घिमिरेका अनुसार शिक्षण पेसाप्रति आकर्षण कम हुनु र वैदेशिक रोजगारीको बढ्दो प्रवृत्तिले राजीनामा दिनेको सङ्ख्या ठुलो मात्रामा बढाएको छ । उहाँका अनुसार राजीनामा दिनेमध्ये करिब आधा शिक्षकले विदेशतर्फ जाने योजनासहित पेसा छोडेका छन् । गत कात्तिक १ गते शृङ्गेश्वर तपोभूमि आधारभूत विद्यालयको प्राथमिक तहबाट राजीनामा दिने शिक्षक नारायणप्रसाद पोखरेलले विद्यार्थी सङ्ख्या न्यून हुनु र दीर्घ समयसम्म शिक्षण गर्दा पहिले जस्तो रुचि नजागेकाले आफूले पद छाडेको बताउनुभयो ।

आव २०७९/८० मा प्राथमिक तहमा ३७ र निम्न माध्यमिक तहमा एक जनाको राजीनामा स्वीकृत भएको थियो । आव २०८०/८१ मा प्राथमिक तहका ४६ र निम्न माध्यमिक तहका छ जनाले राजीनामा दिए । २०८१/८२ मा प्राथमिक तहका २९, निम्न माध्यमिकका दुई तथा माध्यमिक तहका तीन जनाले पद छोडे भने चालु आव २०८२/८३ मा हालसम्म प्राथमिकका सात र निम्न माध्यमिकका एक गरी आठ जनाको राजीनामा स्वीकृत भएको छ । यस अवधिमा १२४ शिक्षक अनिवार्य अवकाश भएका शिक्षा एकाइले जनाएको छ ।

गुल्मीमा हाल गणित, अङ्ग्रेजी र विज्ञान विषयका शिक्षक अभाव गम्भीर रूपमा देखिन थालेको छ । मुसीकोट नगरपालिकाले गणित शिक्षकका लागि छैटौँ पटक विज्ञापन गरेर मात्र शिक्षक पाएको उदाहरण छ । त्यस्तै शिवशङ्कर माध्यमिक विद्यालयका लागि अङ्ग्रेजी शिक्षक पनि छैटौँ प्रयासमा मात्र भेटिएको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताउनुभयो । दल्का माध्यमिक विद्यालयमा गणित शिक्षक तेस्रो विज्ञापनपछि मात्रै भेटिएको र नेपाल राष्ट्रिय तथा सीतापुर माध्यमिक विद्यालयमा विज्ञान शिक्षक पाउन पनि निकै कठिन भएको जानकारी उहाँले दिनुभयो । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लामा सामुदायिक, संस्थागत र प्राविधिक गरी ५६५ विद्यालय सञ्चालनमा छन् ।