घोराही समाचारदाता
घोराही, मङ्सिर २१ गते । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने ९९३ विद्युत् पोल र ११६ वटा रुख हटाउनुपर्ने भएको छ ।
घोराही उपमहानगरपालिका–१५ डिके पेट्रोल पम्पदेखि तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा सम्मको साढे २१ किलोमिटर सडक खण्डमा पर्ने ९९३ विद्युत् पोल र ११६ वटा रुख हटाउनुपर्ने भएको हो । विद्युत् कार्यालय र निर्माण कम्पनीका प्राविधिकले गरेको प्रारम्भिक सर्वेक्षण अनुसार घोराही क्षेत्रको सडक क्षेत्रमा ६६८ वटा विद्युत्का पोल अन्यत्र सार्नुपर्ने देखिएको छ । त्यसमा हाइटेन्सन ३३ केभीका २१५ वटा, ११ केभीका २५६ वटा पोल र एलटी २२० भोल्टका १९७ वटा पोल हटाउनुपर्ने देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय घोराहीका अनुसार ३३ केभीका पोल पुनस्र्थापना गर्न ६० लाख रुपियाँ लाग्ने अनुमान तयार गरेर केन्द्रमा पठाइसकिएको छ । विद्युत् कार्यालय घोराहीका फोर म्यान पूर्ण खातीले अन्य पोल सार्न कति लागत लाग्ने भन्नेबारे प्राविधिक मूल्याङ्कन गर्ने काम भइरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले प्रारम्भिक मूल्याङ्कनको काम भएको र त्यसलाई भेरिफाई गर्ने काम भइरहेको बताउनुभयो । तुलसीपुर क्षेत्रको सडकका विद्युत् पोलको पुनर्संरचना तुलसीपुर विद्युत् प्राधिकरणले गर्ने छ । विद्युत् कार्यालय तुलसीपुरका प्रमुख सुरेश महतोका अनुसार तुलसीपुरको सडक क्षेत्रमा ३३ केभीका पोल एक सय वटा, ११ केभीका पोल ११० वटा र एलटी २२० भोल्टका पोल ११५ वटा गरी जम्मा ३२५ वटा पोल सडक क्षेत्रभन्दा बाहिर सार्नुपर्ने भएको छ ।
सडक निर्माणको जिम्मा पाएको दिवा/वन्दना भगवती जेभीका प्रतिनिधि सुनील ढुङ्गानाले चार लेन सडक विस्तारको काम सुरु भइसकेको र सडकमा पर्ने विद्युत् पोल र रुख हटाउन ढिलाइ हुँदा सडक निर्माणको काममा अवरोध हुने बताउनुभयो । सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्र विष्टले रुख हटाउने काम सडक डिभिजन कार्यालय र डिभिजन वन कार्यालय दाङको समन्वयमा हुने बताउनुभयो ।
उहाँका अनुसार विद्युत्का पोल व्यवस्थापन स्वयम् विद्युत् प्राधिकरणले गर्नुपर्ने छ भने पोल अन्यत्र पुनस्र्थापना गर्न लाग्ने खर्च भने निर्माण कम्पनीले बेहोनुपर्ने गरी ठेक्का सम्झौतामा उल्लेख छ । २०८२ असार २४ गते भएको ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेसम्म विस्तारको काम सक्नुपर्ने छ । दुई अर्ब ५३ करोडमा भएको ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले घोराही–१०, अमराईमा सडक विस्तारको काम गरिरहेको छ ।