काठमाडौँ, मङ्सिर २० गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि एक सय २१ रनको समान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
पोखराका लागि एडम रोसिंगटनले सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । एडम प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै अर्जुन कुमालले अविजित ४३ रन बनाउनुभयो । बलिङमा चितवनका रिजन ढकाल र सैफ जइबले एक एक विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै अल्पेश रामजनीले ३३, कुशल मल्लले २३ र सैफ जइफले १७ रन बनाउनुभयो ।
बलिङमा पोखराका धनन्जय लक्ष्मणले तीन तथा विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक एक विकेट लिनुभयो । चितवन र पोखरा दुवै समूह चरणबाट बाहिरिसकेका छन् । ६ अङ्क बनाएको पोखरा पाँचौँ स्थानमा रह्यो । यस्तै चार अङ्क बनाएको चितवन छैटौँ स्थानमा छ ।