• २० मङ्सिर २०८२, शनिबार

लालबन्दीबाट ५२ केजी गाँजासहित एक युवक पक्राउ

blog

लालबन्दी प्रहरीले बरामद गरेको गाँजा र गाडी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, मङ्सिर २० गते ।
सर्लाहीको लालबन्दीबाट ५२ केजी लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिकाको चुरेवर्ती क्षेत्र वडा नं. १४, नारायणखोलाका २५ वर्षीय गंगाबहादुर वाइवा ठुलो परिमाणमा लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेका हुन् ।

वाइवालाई बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरेर लालबन्दी बजारतर्फ आउँदै गर्दा लालबन्दी नगरपालिका–११, हिरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका वाइवालाई सर्लाही जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान एवम् कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । नारायणखोलातर्फबाट गाँजा ल्याइँदै गरेको सूचना पाएपछि इन्स्पेक्टर जोहारीको नेतृत्वमा प्रहरी परिचालन भएको थियो ।

इन्स्पेक्टर जोहारीका अनुसार गाडीका चालक बस्ने सिटमुनी ‘फल्स बटम’ बनाएर लुकाइएको गाँजा बरामद भएको हो । लालबन्दी प्रहरीले यसअघि मङ्सिर १ गते लालबन्दी नगरपालिका–६, शिव मन्दिर क्षेत्रबाट ३८ केजी ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको थियो ।