• २० मङ्सिर २०८२, शनिबार

एआई प्रयोगले फस्टाउँदै पत्रकारिता

blog

लहान समाचारदाता

लहान, मङ्सिर२० गते । एआईको प्रयोगले नेपाली पत्रकारिता फस्टाउँदै गएको धारणा पत्रकारबाटै व्यक्त भएको छ । एआईको प्रयोगले कम समयमा सिर्जनात्मक समाचार लेखनका लागि मद्दत पु-याएकाले यसको प्रयोगमा सचेत हुन आवश्यक रहेको प्रशिक्षण कार्यव्रmममा प्रशिक्षकले नै बताएका हुन् ।

लहानमा आयोजित एकदिवसीय एआई प्रविधिसम्बन्धी तालिममा बोल्दै सहभागीले समाचार सम्प्रेषणमा विधि र प्रविधि दुवै आवश्यक रहेको बताएका थिए । आमसञ्चार प्राधिकरण मधेश प्रदेशले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका पूर्ववन तथा पर्यावरणमन्त्री सञ्जयकुमार यादवले एआई प्रविधिको सचेत भएर प्रयोग गर्दा पत्रकारितामा चमक र गमक दुवै ल्याउने भएकाले नक्कल मात्रै होइन, अक्कल प्रयोग गरेर सिर्जनात्मक बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग र सामाजिक सञ्जालको उपयोगले सामाजिक विषयसमेत समावेश गरेर सकारात्मक पक्षलाई महŒव दिन आवश्यक छ ।”

स्मार्ट पत्रकारिताको विषय प्रवेश गरेकाले एआई प्रयोग गरेर समाचार सम्प्रेषण गर्दा पटक पटक सम्पादन गर्ने विषयलाई बिर्सन नहुने प्रशिक्षक जीवन भण्डारीले बताउनुभयो । एआईको अधुरो र अपूरो ज्ञानले स्मार्ट पत्रकारिता गर्न नसक्ने भएकाले यसबारे पूर्ण ज्ञानका लागि प्रविधिसँग सम्बन्धित ज्ञान आवश्यक रहेको उहाँले बताउनुभयो । 

एआईको गलत प्रयोग र युट्युबरहरूले सम्प्रेषण गरिरहेको सूचनालाई विश्वसनीय समाचारको रूप दिन पत्रकारिता आचारसंहिता र आवश्यक मापदण्ड बनाउन लागिपरेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत जर्घामगरले प्रस्ट्याउनुभयो । 

सिराहाको पत्रकारितालाई स्मार्ट बनाउन एआई प्रविधिसम्बन्धी तालिमलगत्तै युट्युबरहरूलाई पत्रकारिताको ज्ञान र सिप सिकाउन मधेश प्रदेशस्तरीय पत्रकारिता तालिम आयोजना गर्न आमसञ्चार प्राधिकरण मधेश प्रदेशसँग नेपाल पत्रकार महासङ्घ सिराहाका अध्यक्ष मनोज बनैताले प्रस्ताव राख्नुभयो । आमसञ्चार प्राधिकरण मधेश प्रदेशले स्रोतसाधनले भ्याएसम्म मधेश प्रदेशको पत्रकारितालाई स्मार्ट बनाउन प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रशिक्षण कार्यक्रममा सिराहाका तीन दर्जन पत्रकार सहभागी थिए । सहभागी पत्रकारले एआईसम्बन्धी तालिमले नजानेका धेरै प्रविधिको सिकाइ भएको भन्दै खुसी व्यक्त गरेका थिए ।