मोरङ समाचारदाता
विराटनगर, मङ्सिर २० गते । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका क्रममा मोरङ जिल्लाभित्रका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पार्टी कार्यालय, निजी, सार्वजनिक र सरकारी सम्पत्तिको तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाहीको माग गर्दै एमाले मोरङले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाललाई एमालेका १४ वटा जनसङ्गठनका अध्यक्षले सामूहिक रूपमा जाहेरी बुझाएका हुन् । आन्दोलनका व्रmममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नको विवरणसहित एमालेले कारबाहीको माग गर्दै जाहेरी दिएको एमाले मोरङका सचिव सोमराज थापाले बताउनुभयो ।
जाहेरी लिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कटुवालले घटनामा संलग्नलाई कारबाही गरिने बताउनुभयो । लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई पव्रmाउ गर्न सुरु गरिएको बताउँदै उहाँले एमालेले दिएको जाहेरीले अनुसन्धानमा थप सहयोग पुग्ने बताउनुभयो ।
एमाले मोरङले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जनसङ्गठनले सामूहिक रूपमा जाहेरी दिएको एमाले मोरङका सचिव थापाले बताउनुभयो । उहाँका अनुसार जाहेरीसँगै घटनामा संलग्न व्यक्ति, आपराधिक समूहको फोटो, भिडियोसहितको विवरण समावेश गरिएको छ ।
यसअघि एमाले मोरङले अध्ययन प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । पार्टी कार्यालय पाञ्चालीमा अध्ययन कार्यदलका संयोजक तथा कोशी प्रदेश सभा सदस्य उमाकान्त गौतमले प्रतिवेदन एमाले मोरङका अध्यक्ष अजम्वर राई र केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो । प्रतिवेदन हस्तान्तरण गर्दै उहाँले मोरङका सबै सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनीको विवरण सार्वजनिक गर्नुभएको थियो । अध्ययन कार्यदलका संयोजक गौतमले स्थलगत अध्ययनका व्रmममा पाँच अर्ब रुपियाँको क्षति भएको पाइएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले सरकारले सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनीबारे अध्ययन गरे पनि एमालेले पनि छुट्टै अध्ययन गरेको जनाउनुभयो । एमालेले गरेको अध्ययनमा मोरङको समग्र क्षतिको विवरण समेटिएको उहाँको भनाइ थियो । एमालेले गठन गरेको कार्यदलमा उमाकान्त गौतमसहित सदस्य मुकेश बुढाथोकी, भोला अधिकारी, इरान राई र अजिम आलम रहनुभएको थियो ।