रवीन्द्र उप्रेती
बर्दीबास, मङ्सिर २० गते । प्रहरीले लागुऔषध ब्राउन सुगर ओसारपसार आरोपमा बालिकासहित बर्दीबासबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा जलेश्वर नगरपालिका ६ का २६ वर्षीय मोटरसाइकल चालक बिक्कीकुमार मिश्र र पछाडी सवार पोखरा घर भइ हाल जनकपुर उपमहानगरपालिका २२ बस्ने १६ वर्षीया नेहा परियार रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा बर्दिबासस्थित लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले दुवैलाई ४७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।
ब्युरो प्रमुख सरोज अधिकारीका अनुसार प्रहरीले हिजो शुक्रबार साँझ ५ः३० बजेतिर बर्दिबास नगरपालिका १ स्थित राष्ट्रिय बाणिज्य बैंकअगाडिको भित्री सडक खण्डमा गौरीडाँडातर्फ जाँदै गरेको प्रदेश २–०२–००५ प ३१५९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा ब्राउन सुगरसहित दुवैजना पक्राउ परेका हुन् ।
चेकजाँचका क्रममा नेहा परियारले हातमा बोकेको सेतो प्लास्टिकको झोलाभित्र चकलेटको बट्टामा लुकाइ राखिएको अवस्थामा दुई वटा सेतो प्लास्टिकको प्याकेटभित्र ब्राउन सुगर फेला परेको थियो । तौल गर्दा प्लास्टिकसहित ५२.८५० ग्राम र शुद्ध तौल ४७.६२० ग्राम रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागुऔषध तथा मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि शुक्रबार राति नै बर्दीबासस्थित इलाका प्रहरी कार्यालयमा बुझाइएको ब्युरो प्रमुख अधिकारीले बताउनुभयो ।