• ११ वैशाख २०८३, शुक्रबार

पूर्व प्रहरी हवलदारको हत्याको आरोपमा बुद्धिराम पक्राउ

blog

 गोरखापत्र अनलाइन

काठमाडौँ, मङ्सिर १९ गते । लमजुङको बेँसीसहर नगरपालिका–२, भकुण्डेमा पूर्व प्रहरी हवलदार सीता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन्।

मिति २०८१ चैत ३१ गते कँडेलको घर बाहिरबाट ताल्चा लगाइएको र घरबाट दुर्गन्ध फैलिएको स्थानीयले देखेपछि प्रहरीलाई सूचना दिएका थिए। प्रहरीद्वारा घर खोल्ने बित्तिकै सुत्ने कोठामा रहेको बक्स पलङको बिस्तारामुनि त्रिपालले बेरिएको अवस्थामा कँडेलको शव फेला परेको थियो।

घटनापछि केन्द्रीय अनुसन्धान ब्यूरोसहितको विशेष टोली खटिएर प्राविधिक तथा स्थलगत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानबाट सो घटनामा चितवन, रत्ननगर–६ का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको तथ्य फेला परेको छ।

दराई पहिले पनि हत्या अभियोगमा दोषी ठहरिएका व्यक्ति हुन्। उनले मिति २०६७ कात्तिक १३ गते गोरखा फिनाम–५ निवासी ५३ वर्षीया चिनीमाया पाण्डेलाई छोरा–छोरीको विवाहसम्बन्धी विवादका क्रममा घाटी थिची निर्मम हत्या गरेका थिए। 

सो घटनामा उनलाई गोरखा जिल्ला अदालतले २०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। सजाय भुक्तानका क्रममा उनको मृतक सीता कँडेलसँग भीमफेदी कारागारमा परिचय भएको खुलेको छ।

मिति २०८२ वैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट दराईविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी निरन्तर खोजतलासमा थियो। सोही क्रममा पक्राउ टोलीले २०८२ मङ्सिर १८ गते रूपन्देही, सिद्धार्थनगर–१, बेलहिया सडक खण्डबाट दराईलाई पक्राउ गरी आवश्यक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङलाई बुझाएको जानकारी प्रहरी प्रवक्ता शिवकुमार श्रेष्ठले दिनुभयो ।