• १९ मङ्सिर २०८२, शुक्रबार

बाँकेका एम्बुलेन्सको विवरण सङ्कलन सुरु

blog

एम्बुलेन्सको विवरण सङ्कलन गर्दै स्वास्थ्य कार्यालयका श्रेष्ठसहितको टिम ।

सिराज खान

नेपालगन्ज, मङ्सिर १९ गते । बाँकेमा एम्बुलेन्स सञ्चालनका विषयमा व्यापक जनगुनासो आएकोले एम्बुलेन्सहरूलाई व्यवस्थित गर्न एम्बुलेन्सहरूको विवरण सङ्कलन सुरु गरिएको छ । 

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले एम्बुलेन्सहरूलाई व्यवस्थित गर्ने निर्णय गरेकोले विवरण सङ्कलन सुरु गर्न लगाइएको व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो । उहाँले बाँके जिल्लाबाट अनुमति लिई सञ्चालनमा रहेका एम्बुलेन्सहरूको सम्पूर्ण विवरणहरू १५ दिनभित्रमा सङ्कलन गर्ने निर्णय बैठकले गरेको जनाउँदै त्यसको जिम्मेवारी स्वास्थ्य कार्यालयलाई दिइएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो–‘आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवालाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउने गरी कामहरू प्रारम्भ भएका छन् । जुन ठाउँबाट सेवाको अनुमति प्राप्त गरेको छ त्यही ठाउँबाट एम्बुलेन्स सञ्चालन गर्ने गरी अनुगमन र नियमन गरिने छ ।’ 

अहिले बर्दिया, दाङ लगायतका जिल्लाबाट सञ्चालनको अनुमति लिएका कतिपय एम्बुलेन्सहरूले नेपालगन्ज, कोहलपुरमा बसेर बिरामीलाई सेवा दिएको पाइएको छ । एम्बुलेन्सले जुन जिल्ला, पालिकाबाट सञ्चालनको अनुमति लिएका छन् त्यहींबाट सेवा दिनुपर्ने जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले जनाएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णय अनुसार एम्बुलेन्सहरूको तथ्याङ्कसहित पुर्ण विवरण सङ्कलनको काम सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँकेमा कस्ता–कस्ता एम्बुलेन्स छन् ? सञ्चालनको अनुमति कहाँको छ ? यी सबै कुराको अपडेट गर्ने गरी काम अगाडि बढेको छ । अव एम्बुलेन्सहरूको प्रभावकारी व्यवस्थापन गरिन्छ ।’ 

तथ्याङ्क सङ्कलनको काम दुई महिनाभित्र पूरा गरिने र त्यसपछि नवीकरणको काम सुरु हुने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । कतिपय एम्बुलेन्स चालकहरूले फोन नउठाउने, ढिला गरी पुग्ने तथा भारतका अस्पतालमा बिरामी पुर्‍याएबापत कमिसन पाउने गरेको गुनासो पनि आउने गरेकोले सो बारेमा पनि अनुसन्धान आवश्यक रहेको उपभोक्ता अधिकार मञ्चका केन्द्रीय सचिव वसन्त गौतमले बताउनुभयो । 

बाँकेमा करिब ६० को हाराहारीमा एम्बुलेन्स रहेको अनुमान छ । एम्बुलेन्स सेवा निर्देशिका २०८२ मा ‘क’ र ‘ख’ वर्गलाई एम्बुलेन्स मानेको छ । यसअघि ‘ग’ वर्गलाई पनि एम्बुलेन्स मान्दै आएको भएपनि नयाँ निर्देशिकाले ‘ग’ वर्गका एम्बुलेन्सलाई बिरामी बोक्ने गाडी भनेको छ । भेन्टिलेटर र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सलाई ‘क’ वर्गको सूचीमा राखिएको छ । यस्तो एम्बुलेन्स बाँकेमा केवल एचसिआरसी अस्पतालसँग मात्रै छ ।

त्यसैगरी अक्सिजन भएको, प्राथमिक उपचार जस्तै अक्सिजन जोड्ने, निकाल्ने, स्लाइन लगाउन सक्ने लगायतको तालिम प्राप्त चालक भएको एम्बुलेन्सलाई ‘ख’ वर्गमा राखिएको छ । यस्तै एम्बुलेन्स बाँकेमा करिब १० को सङ्ख्यामा रहेको अनुमान छ । बिरामी बोक्ने गाडी भने ४७ को हाराहारीमा रहेको अनुमान छ ।