शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर १९ गते । सप्तरीको महादेवा गाउँपालिका-४, डाढाको मुसहरी टोलमा दाइँ (दौनी) गर्न राखिएको धानमा आगलागी हुँदा ठुलो क्षति भएको छ।
स्थानीय ६० वर्षीया रविया सदाको करिब एक बिघा खेतबाट काटिएको धान दाइँ गर्न घरछेउमै जम्मा गरिराखिएको अवस्थामा बिहीबार राति अचानक आगलागी हुँदा ठुलो क्षति भएको हो ।
आगलागीबाट करिब एक लाख ३७ हजार पाँच सय रुपियाँ बराबरको धान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न नसकेको र त्यसबारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
बिहीबार राति १२:३० बजे सुरु भएको आगलागी स्थानीयवासीको सहयोगमा २:१५ बजेतिर पूर्णरूपमा नियन्त्रणमा आएको थियो । अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।