अमराज नहर्की
तनहुँ, मङ्सिर १९ गते । तनहुँको बन्दीपुर गाउँपालिका-१, स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च. ७४६४ नम्बरको कारले नियन्त्रण गुमाई पैदल यात्रीलाई ठक्कर दिएको छ । घटना लगत्तै कार तथा चालकलाई डुम्रे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। दुर्घटनास्थल प्रहरी चौकीबाट करिब दुई किलोमिटर पश्चिमतर्फ पर्छ ।
दुर्घटनामा म्याग्दी, धौलागिरि गाउँपालिका–७ की ३८ वर्षीया लीला जौशी र बेनी नगरपालिका–२ की वर्ष ३८ की लीला सुवेदी घाइते हुनु भएको छ । प्रारम्भिक उपचारका लागि दुबैलाई लक्ष्मी सिटी अस्पताल, डुम्रे लगिएको थियो भने पछि थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा रिफर गरिएको थियो ।
अहिलेसम्म दुवै मेट्रोसिटी अस्पताल, पोखरामा इमेर्जेन्सी वार्डमा उपचाररत छन् र अवस्था सुधारोन्मुख रहेको आफन्तहरूले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।