बागलुङ समाचारदाता
बागलुङ, मङ्सिर १९ गते । पश्चिम बागलुङको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पहिलो पटक निर्वाचित भएलगत्तै ‘गौरवका योजना’ भनेर महìवाकाङ्क्षी योजना ल्याउनुभयो । नगरले ‘गौरवको योजना’ भनेपछि गण्डकी प्रदेश सरकारको ५० लाख र नगरपालिकाको ५० लाख गरी एक करोड रुपियाँका दरले लगानी गरिएको योजनालाई बजेट अभाव हुँदा काम अलपत्र परेको छ ।
गलकोट नगरपालिकाका–४ को डाँडाखेतदेखि खरुवा, चमुवा हुँदै निलुवा जाने सडक एक किलोमिटर कालोपत्रे गरेपछि अहिले रोकिएको छ । निलुवातर्फ सवारीसाधन जानै नसक्ने अवस्था भएको स्थानीयको गुनासो छ । गत दसैँमा मर्मत गरेको सडक अहिले खाल्डाखुल्डीले सवारीसाधन जान नसक्ने अवस्थामा पुगेको हो ।
वडा नं. ९ को लोकमार्गदेखि रिघा जाने सडक पनि गौरवको योजनामै थियो । यो सडकको तीन खण्डको एक खण्ड मात्र स्तरोन्नति भएपछि अलपत्र परेको छ । दशकअघि ट्र्याक खुले पनि सिधा यातायात नहुँदा कठिन यात्राले यहाँका बासिन्दाले सास्ती खेपेका छन् । रिघादेखि सिसाखानी हुँदै पाण्डवखानी र रणसिंकिटेनीसम्म जोड्ने सडक पनि अहिले अलपत्र छ । हिजोआज ती सडकमा सङ्घीय, प्रदेश र स्थानीय तह कहीँकतैबाट बजेट नपरेको वडाध्यक्ष तेजबहादुर थापाले गुनासो गर्नुभयो ।
रिघालाई पर्यटकीय गन्तव्य बनाउने नगरपालिकाको लक्ष्य थियो । रिजाको बौद्ध गुम्बा घुम्न पुग्ने धेरैलाई सडक सहज बनाउने योजनामा बजेट बाधक बन्दै गएको वडाध्यक्ष डम्मर श्रीसकै गुनासो छ ।
“मुख्य सडकमा खाल्डा, साँघुरो र भिरको बाटो भएकाले यात्रा गर्न डराउँछन् । नगर परिषद्ले सडक बिर्सियो, सङ्घ र प्रदेशको ध्यानाकर्षण गरिएको छैन,” स्थानीय लालबहादुर घर्तीले भन्नुभयो, “गौरवका योजनालाई तीन वर्ष बजेट विनियोजन गरेको भए सडक सहज बन्ने थियो ।” नगरपालिकाले वडा गौरवका योजना ११ वटै वडामा ५० देखि ६५ लाख रुपियाँको योजना छनोट गरेकोमा वडा कार्यालय बनाउनेबाहेक अन्य सबै काम अधुरा छन् । तीमध्ये वडा नं. २ मा सभा हल बनाउने कार्यव्रmम भने पूरा भई हरेक वर्ष नगर परिषद् यहीँ हुने गरेको छ । वडा नं. ३ मा कोटमैदान जाने सडक अलपत्र परेपछि अहिले सघन सहरी विकास कार्यव्रmममार्फत बनाउने काम भइरहेको छ । वडा नं. ५, हरिचौर बजारमा सडक ढलान गरिएको छ । हरिचौरका ग्रामीण बस्तीमा पदमार्ग र सडक स्तरोन्नतिको काम भइरहेको छ । चव्रmपथ बनाउने, नगर बस चलाउने, सहस्रधारा र घुम्टेलाई पर्यटकीय क्षेत्र बनाउने काम अघि बढ्नै सकेन ।
नगरप्रमुख भरत शर्मा गैरेले बजेट पर्याप्त नभएको, आन्तरिक स्रोत बलियो नभएको र निरन्तर लगानी गर्न नसक्दा ती योजना अलपत्र भएको बताउनुभयो तर जहाँसम्म काम भएका छन्, त्यहाँसम्म राम्रो भएको उहाँले दाबी गर्नुभयो । “वडा नं. ४ को निलुवा पुग्न सकिएन, वडा कार्यालयसम्म त स्तरीय सडकमा हिँडेका छौँ,” गैरेले भन्नुभयो, “कामलाई प्रभावकारी बनाउन पहल गरिरहेका छौँ ।”