टोपलाल अर्याल
रेसुंगा(गुल्मी), मङ्सिर १९ गते । गाउँमा युवा जनशक्ति दैनिक पलायन भइरहेको छ । काम गर्ने उमेरका युवाहरु गाउँमा नभएपछि उर्वर जमिन बाँझा बन्दै गएका छन् । भरथेग गरेर उद्यम गरिरहेका युवाहरुमा पनि लामो आशा र सपना देखिदैन् ।
सोही अवस्थाको अन्त्य गर्न रेसुंगा नगरपालिकाले ‘मिसन रोजगारी’ कार्यक्रम प्रारम्भ गरेको छ । यो कार्यक्रमले उद्यमशीलतामा अभिवृद्धि, नयाँ खोज, व्यवसायीक सीप र रोजगारी प्रवर्धका लागि युवा उद्यमीलाई प्राथमिकता दिनेछ ।
दायित्वको सहकार्यमा एक सय ८० दिनको परिणाम आउने गरेर ‘मिसन रोजगारी’ तीन चरण सञ्चालन गर्ने दायित्व कार्यक्रमका संयोजक संजय पोखरेलले बताउनुभयो । भर्खरैबाट आवेदन आह्वान गरिएको छ ।
यो कार्यक्रमबाट ४० व्यवसायिक फर्म लाभान्वित हुनेछन् । ति मध्येबाट ४० उद्यमीलाई सक्षमीकरण, ४० बाट छनोट भएका २० उद्यमीलाई स्तरीकरण र अन्तिममा १० उद्यमीलाई स्तरोन्नती गरिने पोखरेलले जानकारी दिनुभयो । उद्यमीहरुलाई तालिम, ज्ञान, सीप र प्रविधि हस्तान्तरण गरिनेछ । यो कार्यक्रले उद्यमीलाई अनुदानको भरबाट माथि उठाएर आफैं लगानी गर्न सक्ने अवस्थामा उकास्ने योजना दिनेछ । दायित्वले पूरक साझेदारी गरि लगानी, उत्पादन, बजारीकरण र परिणाम लिनेगरि रोजगारी वृद्धि गर्न सहयोग गर्नेछ ।
प्रतिस्पर्धात्मक उद्यमी तयार गर्न ‘मिसन रोजगारी’ १८० दिन चल्नेछ । उद्यमीहरुले आवेदन भरेपछि गाउँगाउँमा उद्यमीसँग भेटेरै कार्यक्रम सुरुवात हुनेछ । रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रोजगारी सिर्जना नभए युवाहरुको विदेश पलायन रोक्न असम्भव भएको बताउनुभयो । उहाँले आफ्नै गाउँघरको माटोमा समृद्धि खोज्ने संस्कार, श्रमको सम्मान र समृद्धिका लागि ‘मिसन रोजगारी’ कार्यक्रम शुभारम्भ गरेको बताउनुभयो । आफुहरुले सहयोग र सद्भाव दिइरहेका युवाहरु पनि धमाधम विदेश गइरहेको, उद्यम अलपत्र परेको र फछि परदेशमा समेत दुःख पाएको स्थितिमा ‘मिसन रोजगारी’ एउटा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो ।