प्रज्ञा नेपाली बृहत् शब्दकोशले स्वयंसेवा शब्दको अर्थ ‘सुविधा नलिई वा न्यूनतम सुविधामा गरिने कल्याणकारी कार्य र सेवाको भावनाले कुनै कार्य वा गतिविधिमा स्वेच्छाले हुने संलग्नता’ तथा
‘आफ्नै इच्छाले कुनै सेवा कार्यमा लाग्ने व्यक्ति वा लोकहितकारी सङ्गठन वा संस्थामा अवैतनिक रूपले काम गर्ने व्यक्ति’ भन्ने जनाएको छ । संस्कृत भाषामा स्वयम्को अर्थ आफैँ भएकाले स्वयंसेवा भन्नाले आफैँले गर्ने सेवा मानिन्छ । पूर्वीय धर्म, दर्शनमा ‘परोपकारः पुण्याय पापाय परपीडनम्’ भनेर अरूप्रति सद्भाव सहयोग र उपकार गर्ने असल संस्कार छ ।
स्वयंसेवाको अर्थ सुविधा नलिई वा न्यूनतम मात्र लिएर स्वेच्छाले गरिने कल्याणकारी काम भन्ने बुझिन्छ । यस कारण समुदायमा स्वच्छ भावले काम गर्नु र समुदायमा परेका समस्या हल गर्नु तथा कसैलाई समस्या परेको समयमा सहयोग गर्नु नै स्वयंसेवा हो । गाउँघरमा बाल क्लब, युवा क्लब, गुठी, उपभोक्ता समिति जस्ता विभिन्न नाममा गाउँ टोलको बाटो घाटो सफा गर्नेदेखि लिएर समुदायमा केही समस्या पर्दा निःशुल्क रूपमा स्वयंसेवी भावले काम हुँदै आएको छ । विश्वयुद्धका घाइतेलाई पक्ष विपक्ष नभनी रातभरि बत्ती बालेर घाइतेको चोटमा मलमपट्टी लगाउने नाइटिङ्गेलको प्रशंसा गरिन्छ । संस्थागत सर्त वा सङ्गठित व्यवस्थापनमा हुने स्वयंसेवा आवधिक र केही सुविधायुक्त पनि रहन सक्छ । स्वतन्त्र रूपमा गरिने स्वयंसेवा स्वेच्छिक र आकस्मिक हुन सक्छ ।
नेपालमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडव्रmसबाट स्वयंसेवी भावनाका साथ कार्यहरू हुँदै आएको छ । सामूहिक श्रम आदानप्रदान गर्ने अर्मपर्म, मरिमराउ, विवाह बटुलो, घर बनाउँदा वा विपत् पर्दा गरिने रोटीबेटी जस्ता साथी सरयका अभ्यास लोकप्रिय रहँदै आएका छन् । विसं १९९० पछि आधुनिक स्वयंसेवाको प्रचलन रहँदै आएको छ । यसमा शिक्षा, स्वास्थ्य क्षेत्रमा रक्तदान अङ्गदान, स्वास्थ्य स्वयंसेविका, अनाथालय तथा वृद्धाश्रम सेवा, जलवायु सचेतना अभियान, सरसफाइ, वृक्षरोपण राहत तथा पुनस्र्थापना जस्ता क्षेत्रमा स्वयंसेवा र स्वयंसेवक अभ्यास हुँदै आएको छ । नेपालमा संस्थागत रूपमा विसं २०३४ मा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को स्थापना भयो । अहिले पनि भूकम्प, बाढी,पहिरो जस्ता प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठुलो भूमिका रहँदै आएको छ । भूकम्प, बाढी, पहिरो, आगलागी का घटनामा सङ्गठित वा असङ्गठित समूह, समुदाय सेवामा खटिँदै आएको देखिन्छ ।
भोलियनटियर सर्भिस ओभरसिजको नेपाल शाखाले १९६४ देखि गरिब तथा समाजका पछाडि परेको, बहिष्कृत समुदायलाई समावेशी विकास, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, सामाजिक न्याय र अवसर प्रदान गर्ने कार्यमा स्वयंसेवा व्यवस्थपन गर्दै आएको छ । यसै गरी नेपाल रेडव्रmस सोसाइटी, राष्ट्रसङ्घीय स्वयंसेवक, रेयुकाइलगायतका विदेशी संस्थाहरू पनि सङ्गठित रूपमा व्रिmयाशील रहँदै आएका छन् । नेपाल जेसिस, रोटरी क्लब, लायन्स क्लब हरित क्लबलगायतका संस्थाको योगदान पनि उल्लेखनीय छ । नेपाल स्काउटमार्फत आत्मअनुशासन, चरित्र निर्माण नेतृत्व विकास, सेवा भाव, प्रकृतिप्रतिको प्रेम, सामाजिक उत्तरदायित्व अभिवृद्धिमा योगदान गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घले १९८५ मा घोषणा अनुसार प्रत्येक वर्ष डिसेम्बर ५ का दिन आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रलगायत संसारभर नै विभिन्न कार्यक्रम गरेर स्वयंसेवक दिवस मनाउने चलन छ । यस दिनले संसारभरका स्वयंसेवकको आर्थिक र सामाजिक विकासतर्फको महìवपूर्ण योगदानलाई मान्यता र सम्मान प्रदान गर्छ । यस दिवसलाई स्वयंसेवक गतिविधिको प्रवर्धन गर्ने र थप मानिसहरूलाई सामुदायिक सेवामा सहभागी हुन प्रोत्साहन गर्ने अवसरका रूपमा लिने गरिन्छ । यस वर्ष ‘हरेक योगदान महìवपूर्ण’ भन्ने आदर्श वाक्यसहित अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२६ लाई अन्तर्राष्ट्रिय स्वयंसेवक वर्ष मनाउने घोषणा गरेको छ । यस वर्ष राष्ट्रिय युवा परिषद् र उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा डिसेम्बर ५ तारिकका दिन ट्राफिक सचेतना र अभियान सञ्चालन गरिँदै छ ।
बाढी, पहिरो, भूकम्प र आगलागी जस्ता विपत्तिमा सहायता, पूर्वाधार विकास तथा संरक्षण, सार्वजनिक स्थल, सम्पदा वा मठमन्दिरको सरसफाइ, यातायात तथा ट्राफिक व्यवस्थापन, वृक्षरोपण तथा वातावरण संरक्षण. जलवायु परिवर्तन असर न्यूनीकरण मुख्य स्वयंसेवाका क्षेत्र हुन् । यसै गरी अनुकूलन क्षमता अभिवृद्धि, असहाय मानव तथा प्राणीको संरक्षण, कानुनी परामर्श तथा नागरिक सचेतना अभिवृद्धि, सामुदायिक शिक्षा, बाल शिक्षा र परामर्श, स्वास्थ्य तथा मनोपरामर्श, ज्येष्ठ नागरिक संरक्षण तथा सामाजिक सुरक्षा पनि यही अन्तर्गत पर्छन् ।
पछिल्लो समय मानिस बढी व्यक्तिवादी बन्दै आएकाले स्वयंसेवाप्रति युवाको आकर्षण घट्दै गएको छ । यस्तो अवस्थामा सुधार गरी सामाजिक भावना विकास गर्ने निःशुल्क सामाजिक सेवा गर्ने र आत्मसन्तुष्टि लिन सक्ने भावनाको पुन विकास गर्न आवश्यक छ । अरूबाट मागेर मात्र गरिने प्रचारमुखी समाजसेवा र अझ समाजसेवा वा स्वयंसेवाका नाममा जीवन निर्वाह गर्ने सोचमा समेत सुधार गरी विपत्, कठिन अवस्था र सहयोगापेक्षी मानव वा पशुपन्छीउपर स्वयंसेवी भावनाबाट काम गर्ने स्वच्छ भावनाको विकास आवश्यक छ ।
स्वयंसेवकमा स्वयंसेवाको कार्य विवरण अनुसार जिम्मेवारी वहन गर्नेदेखि नेपाल सरकारको प्रचलित कानुन र प्रचलित स्वस्थ्य मान्यता र स्वयंसेवकको आचारसंहिता पालना गर्ने पर्छन् । आफ्नो दक्षता अभिवृद्धिका लागि प्रयत्नशील रहने, सहिष्णु भावना र उच्च आदर्शले प्रेरित रही सदाचारी बन्ने, सेवाको अभिलेखन गर्ने, सेवाग्राहीको विश्वास, विचार तथा अधिकारको सम्मान गर्ने, संस्थागत स्वयंसेवा भएमा संस्थाको उद्देश्य र कार्य पद्धतिको पालना गर्ने जिम्मेवारी यसभित्र पर्छन् ।
नेपालको संविधानको धारा ४८ मा नागरिकाका चार वटा कर्तव्यमध्ये राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नुपर्ने पनि रहेको छ । ३१ वटा मौलिक हकको कार्यान्वयनमा राज्यका हरेक नागरिकको स्वयंसेवकीय भूमिका स्वतः अपेक्षित छ । आवधिक योजनाले स्वयंसेवकीय भावनाको प्रवर्धनमा र युवा विकासमा जोड दिएको छ । राष्ट्रिय युवा नीति २०८२ ले युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्रनिर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने ध्येय लिएको छ ।
यसै गरी आव २०८२।८३ को बजेट तथा कार्यव्रmमको बुँदा नं. १९१ मा ‘राष्ट्रिय युवा परिषद्को समन्वयमा १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिने छ । उनीहरूलाई तालिम तथा प्रशिक्षणबाट योग्य बनाई शिक्षा, स्वास्थ्य, सामाजिक जागरण, वातावरण संरक्षण, विपद्मा उद्धार, राहत र पुनस्र्थापनाका लागि परिचालन गरिने छ’ भन्ने कार्यव्रmम समावेश छ । राष्ट्रिय युवा परिषद्बाट विगत वर्षदेखि नै सहभागिता र साझेदारीमा स्वयंसेवक विकास तथा परिचालनका कार्यव्रmम सञ्चालन गर्दै आएको छ । यसका साथै विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सामाजिक सङ्घ संस्था एवं इच्छुक स्वदेशी तथा विदेशी नागरिकबाट विविध क्षेत्रमा स्वयंसेवा हुँदै आएको छ ।
सूचना र प्रविधिको बढ्दो प्रयोग, विदेश पलायन र उपभोगमुखी प्रवृत्ति र स्वप्रतिस्पर्धाको भावना बढ्दै आएको छ । यसले युवा पुस्तामा सङ्गठित स्वयं सेवाप्रति रुचि घट्दै गएको देखिन्छ । स्वयंसेवाप्रति ऊर्जाशील युवाको आकर्षण बढाउन तिनै तहका सरकार, विकास साझेदार तथा हर क्षेत्रबाट सामूहिक प्रयत्न हुन आवश्यक छ । सबैमा गच्छे अनुसारको स्वयंसेवी भावनाबाट नै मुलुकको समृद्धि र विकास एवं सामाजिक सहिष्णुता, पारस्परिक सहयोग र भाइचारा सम्बन्ध सुदृढ हुन सहयोग पुग्ने छ ।